नाराले मात्रै मुलुक समृद्ध हुँदैनः चालिसे

पोखरा, २७ कात्तिक। नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज चालिसेले भाषण र नाराले मात्रै देश समृद्ध नहुने बताएका छन्।

पोखरा १६ बाटुलेचौरमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई भाषणमा अल्मल्याएर कम्युनिष्टले आफ्ना लागि राज्यको ढुकुटी रित्याउने काम गरिरहेका आरोप लगाए।

‘समृद्ध हुने चाहना गफ गरेर पूरा हुँदैन। पीपलको पात टिपेर पैसा बनाउन सक्दैनौं’-उनले भने-‘हाम्रो राष्ट्र समृद्ध बनाउने बाटो जलविद्युत्, पर्यटन, कृषि र जनशक्ति हो। समृद्धि गर्ने भाषणले होइन विकासले हो।’ उनले सधैँ विकासको विरोध गर्ने पार्टीसमृद्धिकै नारा लिएर चुनावमा आउनु विरोधाभाष कुरा भएको टिप्पणी गरे।

लोकतन्त्रको रक्षा, मानवअधिकारको रक्षा गर्दै समृद्ध नेपाल बनाउने अभियान काँग्रेसको भएको चालिसेको जिकिर थियो। ‘यो चुनाव ब्यक्ति र पार्टोको होइन। जनताको जीवनपद्दति र भोली हामी बाँच्ने समाजको छनौटको चुनाव हो’-उनी भन्छन्-‘नेपाली काँग्रेसको उम्मेदवार होइन, दुर्इ करोड ८० लाख नेपाली जनताको स्वतन्त्रताको चुनाव हो, प्रजातन्त्रको चुनाव हो।’

कम्युनिष्ट गठबन्धनले चुनाव जिते देशभित्रको आन्तरिक पुँजी पलायन हुने र विदेशी लगानी नेपालमा नभित्रिने उनको तर्क थियो। राजनीति देश समृद्ध हुने बाटो भएको भन्दै चालिसेले मतपत्रको सुरक्षा र जनता मालिक हो भन्ने मान्यतालाई स्थापित गर्नका लागि भएपनि रुखमा भोट हाल्न आग्रह गरे।

क्षेत्र २ -ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धिका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताए।

जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको भ्रममा नफस्न आग्रह गरे। दुर्इ तिहाइ बहुमत मार्फत काँग्रेसले जनताका हक अधिकारको रक्षा गर्ने थापाको भनाइ थियो। उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेसको स्थीर सरकार बन्ने दावी गरेका छन्।

पोखरामा सोमबार भएका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि भए पनि रुखमा भोट हाल्न आग्रह गरे।

‘कम्युनिष्टकै कारण देशको आर्थिक अवस्था लथालि· भएको छ। कम्युनिष्ट गठबन्धनको चर्चाले मात्रै सेयरबजार ध्वस्त भैसक्यो, सरकारै बने के होला?’-थापाले भने-‘मुलुकको विकास र समृद्धि काँग्रेसको एजेण्डा हो। बुझीबुझी जनताले गल्ती गर्दैनन्।’

क्षेत्र २ (ख) अन्तर्गत सचिवालय उद्घाटमा उनले आफूलाई मतदान गर्न मतदातासँग अपील गरे। ‘जनधनको रक्षाको ग्यारेण्टी काँग्रेसले लिन्छ। त्यो भारी बोक्ने अवसर मलाई दिनुस्’-उनी भन्छन्-‘राष्ट्रिय निकास र आर्थिक समृद्धिका लागि प्रजातन्त्रवादी काँग्रेसलाई भोट हाल्नुस्।’

यसैबीच, कास्की २ का काँग्रेसी उम्मेदवार सोमबार पनि घरदैलोमै ब्यस्त रहे। पोखरा ९, ११ र १६ का विभिन्न ठाउँमा उनीहरुले मतदातासँग भोट माग्न भ्याए। यतिबेला काँग्रेसका उम्मेदवार घरदैलोमा बढी प्राथमिकताका साथ लागिरहेका छन्। जनताका गुनासो सुन्ने र आश्वासन दिने काम गरिरहेका छन्।

कास्की क्षेत्र २ अन्तर्गत (ख) मा सचिवालय उद्घाटन गरिएको छ। कास्की काँग्रेसका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले कार्यालय उद्घाटन गरेका हुन्। उनले काँग्रेससँग जनाधार भएकाले बहुमतका साथ विजयी हुने दावी गरे। उनले लोकतन्त्रको रक्षा र जनताका मौलिक हकको रक्षाका लागि भएपनि काँग्रेसको रुख चिहृनमा मतदान गर्न आग्रह गरे। कार्यक्रममा क्षेत्र २ को चुनाव प्रचारप्रसार समिति संयोजक सोभियतबहादुर अधिकारी, क्षेत्र २ (ख) का चुनाव प्रचार संयोजक वीरेन्द्रनारायण विजुक्छे लगायतले बोलेका थिए।

यसैबीच, क्षेत्र २ अन्तर्गत नै पोखरा १६ मा चुनावी प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ।

सोमबार काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार कुमार खड्काले कार्यालय उद्घाटन गरे।

प्रतिनिधिसभाका सदस्यका उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापा सहितको उपस्थितिमा खड्काले देशलाई काँग्रेसको खाँचो परेकाले त्यसको नेतृत्व गर्ने जिम्मेवारी दिन मतदातासँग आग्रह गरे।

- अादर्श समाज सम्वाददाता