मुलुकको भविष्य काँग्रेससँग-थापा

पोखरा, २५ कात्तिक ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन्।

पोखरा १४ मा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटनपछि बोल्दै उनले हरेक अप्ठ्यारो स्थितिमा देशलाई काँग्रेसले निकास दिने गरेको स्मरण गरे। ‘विगतमा काँग्रेसकै अगुवाईमा मुलुकले निकास पाएको छ।

पुराना शासन ब्यवस्था हटाउनेदेखि संविधान निर्माणसम्ममा काँग्रेसको नेतृत्व छ’-उनले भने-‘अहिले पनि देश संकटमा छ। त्यसैले काँग्रेसको जीत अपरिहार्य भएको छ।’

क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्ण केसीले वामपन्थीको नाममा कम्युनिष्टले जनतालाई धोखा दिएको आरोप लगाए। कम्युनिष्ट अवसरको पछि लागेर देश जटिल परिस्थितीमा परेको भन्दै उनले काँग्रेसलाई बहुमत दिएमात्रै सही दिशा दिन सकिने बताए।

कार्यक्रममा प्रदेश १(ख) निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङ, नेता बोधराज कार्की, बोधराज बराल, किरण केसी, समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ लगायतले बोलेका थिए। उनीहरूले शनिबार पोखरा १४ का विभिन्न टोलहरूमा घरदैलो गर्दै मतदातासँग मत मागेका छन्। घरदैलोका क्रममा उम्मेदवारलाई स्थानीयहरूले भब्य स्वागत गरेका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

यसैबीच, उम्मेदवार थापा, केसी र प्रदेशसभा (क) का उम्मेदबार जीवन परियार शनिबार नेपाल शिक्षकसँगले आयोजना गरेको भेलामा सहभागी थिए।

उनीहरूले उच्च मनोवलका साथ पार्टीलार्इ विजयी गराउने अभियानमा जुट्न शिक्षकसँग आग्रह गरे।

- अादर्श समाज सम्वाददाता