घरघरमा काँग्रेसी उम्मेदवार

'विपक्षी मैदान छोडेर भागिसके’

पोखरा, कात्तिक २५। नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज चालिसेले विपक्षीहरू आफ्नै आँगनमा डराएर अर्को क्षेत्रमा शरण लिन पुगेको बताएका छन्।

पोखरा १६ अर्मलामा चुनावी प्रचार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा गाउँघरमा केही गर्न नसकेपछि पर्यटक भएर अर्को क्षेत्रमा चुनाव लड्न जानुपरेको आरोप लगाए। ‘ताकत भए आफ्नै क्षेत्रबाट चुनाव लड। आफ्नो आँगन बनाउन नसकेर पर्यटकको रुपमा अर्काको शरणमा पर्नेले केही गर्ने साहस राख्दैन’-उनले भने(‘विपक्षीले चुनाव हारे, हाम्रो जितको थालनी भैसकेको छ।’ आफ्नो घरमा शुद्धता देखाउन नसक्ने मान्छेले अर्काको घर बनाउने सपना देख्नु मुर्खता भएको चालिसेको भनाइ छ। ‘आफ्नो कार्यकालमा नगरपालिका के भयो आफैले देखे, कोमागाने पार्कको हालत जनताले बुझेका छन्’-एमाले अध्यक्ष कृष्ण थापालाई लक्षित गरी उनले थपे(‘नेता मालिक बनेपछि मैदान छोडेर भाग्नुपरेको छ। त्यसैले काँग्रेसले चुनाव जितिसकेको छ।’ सांसद भएपछि आफू पूरै जनताको सेवामा लाग्ने भन्दै उनले तलबभत्ता र सेवा सुविधा पूर्ण रुपमा सडक बालबालिकाको शिक्षामा खर्च गर्ने दोहोर्‍याए।

क्षेत्र २ अन्तर्गत प्रदेशसभाका -ख) का उम्मेदवार विन्दुकुमार थापाले आफू विकासका एजेण्डा सहित चुनावी प्रतिष्पर्धामा रहेकाले विजयी गराउन मतदातासँग आग्रह गरे। ‘प्रदेशको सबै भार पोखरामा छ। पोखराको प्रतिनिधित्व मैले गर्दैछु-उनले भने-‘विकास गर्न भिजन चाहिन्छ। त्यसका लागि काँग्रेसलाई भोट दिनुस्।’ पोखरामा लगानी विस्तार गरी सबैलाई रोजगारी दिने अवसर सिर्जना गर्नेछौं। प्रत्येकको आम्दानी बढाउने विषयमा प्लानिङ सहित लागिरहेको छु-उनी भन्छन्-‘कृषि, पर्यटन, उर्जा र दक्ष जनशक्तिलाई मुख्य प्राथमिकतामा राखेको छु।’

क्षेत्र २ (क) का उम्मेदवार गुरुप्रसाद बरालले कम्युनिष्टको भ्रमले जनतालाई घात भएको बताए। क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ को सर्म्पर्क कार्यालय स्थापना गर्दै उनले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा काँग्रेसलाई विजयी गराउनुपर्ने बताएका हुन्। ‘कम्युनिष्टहरूले चुनावी तालमेल मात्रै गरेको भए हामीलाई खासै चिन्ता हुने थिएन’-उनले भने-‘तर यो गठबन्धन लोकतन्त्रलाई परास्त गर्नका लागि हो। सबै लोकतन्त्रवादीहरू एकजुट हुनु जरुरी छ।’

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्काले रवीन्द्र अधिकारीको एनसेल काण्डका सबै प्रमाण सार्वजनिक गर्ने चेतावनी दिएका छन्। उनले भने-‘तर म त्यतिकै आरोप प्रत्यारोपमा उत्रिएको छैन। मसँग प्रमाण छन्। र, केही दिनमा ती प्रमाण मिडियामा सार्वजनिक गर्नेछु-उनले भने ।

यस्तै, क्षेत्र नम्बर २ का उम्मेदवार शनिबार विभिन्न वडामा घरदैलो गरेका छन् भने पोखरा ३३ भरतपोखरीमा कार्यकर्तासँग भेटघाट गरेका छन्। भरतपोखरी, पुणिटार र कालिकास्थानमा चुनावी सर्म्पर्क कार्यालय स्थापना गरिएको हो। प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (क) का उम्मेदवार गुरु बरालले कार्यालय उद्घाटन गरेका हुन्। पोखरा ९ मा पनि घरदैलो कार्यक्रम गरिएको थियो। घरदैलोमा चालिसे सहित प्रदेशसभा (ख) का उम्मेदवार विन्दु थापा, नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे लगायत पार्टी नेता तथा कार्यकर्ता र सर्वसाधारण नागरिक सहभागी थिए।

- अादर्श समाज सम्वाददाता