उम्मेदवार भोट माग्न धानखेतमै

पोखरा, २५ कात्तिक । नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जनताको चाहान र देशको माग नै वाम गठबन्धन भएको बताएका छन्।

कास्की क्षेत्र नं १ को क अन्तर्गत पोखरा २७ को डाँडामा स्थापन गरिएको वाम गठबन्धनको चुनाव प्रचार प्रसार सर्म्पर्क कार्यालय उद्घाटन गर्दै नेता अधिकारीले यस्तो बताएका हुन्।

राष्ट्रको माग र जनताको चाहनाअनुसार भएको वाम गठबन्धनले आगामी दिनमा दिगो शान्ति र समृद्ध नेपाल बनाउने अभियानमा सरिक भइ देश र जनताको हितमा काम गर्ने ठोकुवा गरेका थिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य झलकपाणि तिवारले चुनाव जित्न र कसैको विरुद्धका लागि मात्र वाम गठबन्धन निर्माण नभएको स्पस्ट पार्दै दिगो शान्ति र समृद्ध नेपाल बनाउने माहान अभियनका साथ गठबन्धन भएको बताए।

कास्की १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले अस्थिर राजनीति अन्त्य गरी स्पस्ट बहुमतको सरकार निर्माण गरी देश विकासको अभियानलाई दीर्घकालीन रुपमा अगाडि बढाउनु नै वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताए।

कास्की १ प्रदेश (क) उम्मेदवार दीपक कोइरालाले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियान नै आफूहरुको चुनावी एजेन्डा भएकोमा जोड दिएका थिए।

वाम गठबन्धन कास्की क्षेत्र नं १ क का संयोजक विजयबाबु वनबासीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सहसंयोजक छविलाल लामिछानेले गरेका थिए।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घरदैलो गर्ने क्रममा वाम गठबन्धका उम्मेदवारले किसानको खेतमा नै पुगेर धान काट्न सघाउँदै भोट मागेका छन्।

घरमा ताल लगाएर खेतबारीमा व्यस्त किसानहरुलाई भेट्न शनिबार पोखरा २६ को खरानेफाँट पुगेका कास्की क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार खगराज अधिकारी र प्रदेशसभा क का उम्मेदवार दीपक कोइरालाले केदार रानाभाटलाई धान काट्न सघाउँदै भोट मागेका हुन्।

आफ्ना नेता तथा कार्यकर्तासहित खेतमा पुगेका उम्मेदवारले खरानेफाँटका जनतासँग भोट मागे।

शनिबार दुवैतर्फा उम्मेदवार र ठूलो संख्यामा रहेका कार्यकर्ता र शुभेच्छुकहरुको सहभागितामा पोखरा लेखनाथ २६ को अर्र्घौचोक, खरानेफाँट, तालवेसी, बरालडाँडा, जल्धारे हुँदै नरसपुर, टाइगर टप, थापाथर, विजयपुर, कालिकाचोकहुँदै बूढीबजारसम्म घरदैलो गरी ठाँउ ठाउँमा चुनावी सभा गरेको छ।

पोखरा ३०, शिशुवामा चुनाव प्रचार प्रसार सर्म्पर्क कार्यालयको उम्मेदवार खगराज अधिकारी र प्रदेशसभा क का उम्मेदवार दीपक कोइरालले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

वडा संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजक विश्वप्रकाश अधिकारी र सञ्चालन सचिव कृष्णप्रसाद अधिकारीले गरेका थिए।

थापालाई जिताउन युवाको साथ

पोखरा, २५ कात्तिक । कास्की क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापालाई जिताउन शनिबारदेखि घरदैलो कार्यक्रम शुरु भएको छ।

पोखरा ७ मा भएको घरदैलो कार्यक्रम गर्दा उम्मेदवार थापासँग युवा जमात पनि उत्तिकै उत्साहित भएर हिँडेका थिए।

पोखरा-२१ का रामचन्द्र गिरीले २०५४ सालमा मेयर भएर पोखराको विकासमा ठूलो योगदान पुर्‍याएका थापालाई जिताउन आफूहरु लागिपरेको बताए ।

थापाले मेयर हुँदा अन्य शहरका मेयरको तुलनामा उदाहरणीय काम गरेको गिरीले सुनाए।

शनिबार नै संयुक्त वाम गठबन्धन निर्वाचन प्रतिनिधिसभाका उम्मेदवारलाई जिताउन पोखरा-३३ को कार्यालय उद्घाटन गरिएको छ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य गंगा पोख्रेलले कार्यालय उद्घाटन गरे।  पोखरा-३३ नेकपा एमालेका अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, निर्वाचन क्षेत्रीय समन्वय कमिटी कास्की २ प्रदेश १ का संयोजक युवराज पौडेलले लागयतले बोलेका थिए।

शनिबार नै संयुक्त वाम गठबन्धन निर्वाचन प्रतिनिधिसभाका उम्मेदवारलाई जिताउन पोखरा-१५ मा कार्यालयको उद्घाटन गरिएको छ। कार्यालयको उद्घाटन कास्की क्षेत्र नं २ का उम्मेदवार रवीन्द्र अधिकारीले गरेका थिए।

- एजेन्सी