जनताको शिर झुक्न दिन्नँ : अधिकारी

पोखरा, २५ कात्तिक। कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र अधिकारीले जनताको शिर कहिल्यैं झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्षेत्र २ को पोखरा-११ फूलबारीमा वाम गठबन्धनको वडास्तरीय संयुक्त कार्यालयको उद्घाटन गर्दै अधिकारीले जनमतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने-‘म जनमतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, तपाईंहरुको कहिल्यैं शिर झुकाउन दिन्न।’

अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल आफू र कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार राजकाजी गुरुङको पहलकदमी र नेतृत्वमा बनेको दाबी गरे।

जनताको मन जितेर गरिने स्वच्छ प्रतिष्पर्धा नै आजको लोकतन्त्र भएको बताउँदै वाम गठबन्धनले काँग्रेसलाई पनि विकासमा सँगसँगै लैजाने बताए।

यस्तै, कास्की २ का प्रदेशसभाका उम्मेदवार राजकाजी गुरुङले आफ्नो उम्मेदवारी गरिबीविरुद्ध भएको बताए। समुन्नत समाज निर्माण नै आफूहरुको अभियान भएको बताउँदै वामपन्थी मिल्दा काँग्रेसले टाउको दुखाउनुपर्ने कारण नभएको बताए।

समानुपातिक उम्मेदवार मीना गुरुङले महिला, मजदूर, दलित, गरिब, विपन्नको पक्षमा काम गर्न वाम गठबन्धन भएकाले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन्।

- एजेन्सी