पर्यटन उद्योगको विकासमा जोड-शर्मा

पोखरा, २५ कात्तिक । नेपाली काँग्रेस क्षेत्र नम्बर ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले पर्यटन उद्योगबाट क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका छन्।

शनिबार क्षेत्र नम्बर ३ मा आयोजित छुट्टाछुट्टै कार्यक्रममा बोल्दै उनले ३ नम्बर क्षेत्रमा पर्यटन विकासका सम्भावना रहेकाले यसको कुशल ब्यवस्थापनबाट पर्यटन उद्योगकको विकास गर्न सकिने बताएका हुन्।

विश्वशान्ति स्तुपा, फेवाताल, विन्ध्यवासिनी मन्दिर, पञ्चासे, घान्द्रुक, अन्नपूर्ण पदमार्ग, कास्कीकोटको दवार, कश्यप ताल, सराङकोट यस क्षेत्रमा पर्ने बताउँदै ति क्षेत्रको विकास र प्रचार गरी पर्यटकका लागि गन्तब्य स्थान बनाउने आफ्नो योजना रहेको बताए।

काँग्रेसको जितबाट मात्रै विकास र समृद्धि संभाव भएको उल्लेख गर्दै अहिले मुलुकमा देखिएको विकास काँग्रेसको नेतृत्वमा भएको बताए।

प्रदेश नम्बर ‘क’ की उम्मेदवार शारदा पौडेलले काँग्रेसले राजनीतिक लर्डाईमा विजय हासिल गरिसकेको उल्लेख गर्दै अबको लर्डाई आर्थिक विकासका लागि भएको उल्लेख गरिन्।

प्रदेश सभा ‘ख’ का उम्मेदवार भोजबहादुर गुरुङ ‘सिकन्दर’ कुशल नेतृत्वको अभावमा मुलुकमा राजनीतिक अस्थिरता भएको उल्लेख गर्दै स्थिर राजनीति र स्थीर सरकारका लागि काँग्रेसलाई जिताउन आग्रह गरे।  काँग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठीले कम्युनिष्टको अधिनायकवादी तन्त्रलाई परास्त गर्न काँग्रेसलाई जिताउनु पर्ने बताए।

काँग्रेसका नेता खेमराज पौडेलले दुइ तिहाइ बहुमत ल्याएर संविधान संशोधनको माध्यमबाट मुलुकमा अधिनायकवादी ब्यवस्था स्थापना गर्न वाम गठबन्धन भएको उल्लेख गर्दै काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन काँग्रेसलाई चुनाव जिताउन आग्रह गरे।

क्षेत्र नम्बर ३ भएका चुनावी सभामा लोकतन्त्रिक खेलकुद संघका केन्द्रीय सभापति देवेन्द्र शेरचन, तरुण दल कास्कीका सभापति मजोज गुरुङ, अन्नपूर्ण गाउँपकलिकाका अध्यक्ष युवराज कुँवर लगायतले बोलेका थिए ।

यसैबीच, उम्मेदवार शर्माले शुक्रबार पोखरा २२ वडा इकाइ समितिले पुम्दीभुम्दीमा आयोजना गरेको चुनाव प्रचार प्रसार समिति सर्म्पर्क कार्यालयको उद्घाटन गरे।

पोखरा २४ को कास्कीकोट, वडा ३ को नदीपुर र अन्नपूर्ण १, २, ३ को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरे।

पोखरा २४ मा वडा सभापति प्रतापबहादुर कार्कीको संयोजकत्वमा पाँच सय पाँच सदश्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा मधु सुवेदीको संयोजकत्वमा, वडा नम्बर २, मा शोभाखर अधिकारीको संयोजकत्व र ३ मा डिल्लीराम पौडेलको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको काँग्रेस नेता मनपति भण्डारीले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता