शान्तिघाट विकास समितिको साधारणसभा

नगरवासी स्मार्ट बनेमात्र स्मार्ट सिटी : जिसी

पोखरा, २५ कात्तिक। पोखरा ९, शान्तिघाट विकास समितिको १३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले साधारणसभा उद्घाटन गर्दै

सरसफाइप्रति प्रतिबद्ध रहन नगरवासीलाई आग्रह गरे। ‘नगरवासी स्मार्ट बनेमात्र नगर स्मार्ट सिटी बन्ने हो’-जिसीले भने ।

उनले शान्तिघाटमा निर्माणाधीन बहुउद्देश्यीय शान्ति भवन महानगरकै सम्पदा भएको उल्लेख गर्दै जनसहभागिता जुटेमा यसको विकास निर्माणका लागि महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता जनाए। महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले घाट व्यवस्थित गर्नु महत्वपूर्ण कार्य भएको बताए।उनले शान्तिघाटसम्म जाने बाटोको छेउमा सोलार बत्ती र विद्युतीय शवदाहनका लागि महानगरपालिकाको सहयोग रहने प्रतिबद्धता जनाए।

समितिका सल्लाहकार विश्वप्रकाश लामिछानेले सेती नदी किनारका जग्गामा बगैँचा निर्माणका लागि योजना बनाउनुपर्नेमा जोड दिए। युवापण्डित कमलनयन गौतमले मृत्यु सबैले वरण गर्नेपर्ने हुँदा आफ्नो अन्तिम विश्रामस्थलको व्यवस्थापन गर्न ध्यान पुर्‍याउनुपर्ने बताए।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पोखराको रामघाट क्षेत्रको संरक्षण र विकासका लागि गुरुयोजना बनाउनुपर्नेमा जोड दिए।

अग्रज पत्रकार नारायण कार्कीले नदी किनारमा निर्माण कार्य नदीमैत्री हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कृषि उपज बजार समितिका अध्यक्ष रुद्रप्रसाद खनाल, व्यवसायी रामचन्द्र थापा, जाल्पादेवी महिला उद्धार समूहकी कान्ति अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

साधारणसभामा समितिका सचिव उत्तम जोशीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुप्रसाद बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा भवन निर्माण समितिका संयोजक तथा समितिका आजीवन सदस्य एवम् सल्लाहकार स्वर्गीय टेकन गिरीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै  मौनधारण गरिएको थियो।

यस्तै, समितिका आजीवन सदस्य केयरसिंह पाइजा र कार्यसमितिका पूर्व सदस्य प्रेमराज पहारी, हिराकाजी श्रेष्ठ, पार्वती बास्तोला, राधिका बस्ताकोटी र प्रेमराज अधिकारीलाई सम्मान गरियो। प्रमुख अतिथि जिसीले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए। समितिका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शिवबहादुर कार्कीले स्वागत र सचिव उत्तम जोशीले सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न सहयोगदाताले ३० हजार छ सय रूपैयाँ सहयोग रकम प्रदान गरेका छन्। समितिमा दुर्इ सय ७२ आजीवन सदस्य रहेकोमा साधारणसभामा थप १५ जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता