‘स्थायी शान्तिको लागि वाम एकता’

पोखरा, २५ कात्तिक । वाम गठबन्धनअन्तर्गत कास्की क्षेत्र क्षेत्र ३ को प्रदेशसभा -ख) को निर्वाचन परिचालन कमिटीको कार्यलय उद्घाटन गरिएको छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को उम्मेदवार जगत विश्वकर्माले कार्यालय उद्घाटन गर्दै स्थायी शान्ति र समृद्धिको लागि वाम गठबन्धन भएको बताए।उनले वाम गठबन्धनका उम्मेदवार जितेमात्र स्थायी शान्ति र देश समृद्धिको बाटोमा अघि बढ्ने बताए। कानुनी अड्चनले एउटै निर्वाचन चिहृन लिएर चुनावमा प्रतिस्पर्धा गर्न नमिलेकोले फरक फरक चुनाव चिहृन लिएर चुनावमा होमिएको बताए।

उनले भने-‘हाम्रो उद्देश्य अब एउटै पार्टीनर्माण गर्ने हो, त्यसैले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्दछु।’

उता, क्षेत्र ३ प्रदेश -ख) का उम्मेदवार राजीव पहारीले आर्थिक क्रान्तिको योजनासँगै आफू चुनावी प्रतिस्पर्धामा आएको बताए। उनले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश पलायन हुन नदिने अठोट आफूले लिएको बताए।

कार्यक्रममा नेकपा माओवादी समानुपातिक उम्मेदवार दुर्गा विक, एमालेक मित्रकुमारी गुरुङ लगायतले राजनीतिक स्थायित्वको लागि नै वाम गठबन्धन आवश्यक भएको बताएका थिए। कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको हो ।

कास्की १ अन्तर्गत प्रदेशसभा -ख) का उम्मेदवार मनबहादुर गुरुङ घरदैलोमा व्यस्त छन्।

उनले शनिबार पोखरा १२ का विभिन्न स्थानमा घरदैलो गरेका छन्। गुरुङले नेकपा एमाले तथा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको साथमा घरदैलो अभियान गरेका हुन्।

घरदैलोको क्रममा स्थानीयबासीका समस्या आफूले सुनेर टिपोट गरेको गुरुङले बताए।

‘मैले घरदैलो गर्ने क्रममा स्थानीयबासीका समस्या तथा अपेक्षाहरु संकलन गरेको छु-उनले भने- ‘मतदातासँग अहिले गरेका सम्पूर्ण प्रतिबद्धताहरु निर्वाचत जितेपछि पुरा गर्नेछु।’

- एजेन्सी