हेमजामा काँग्रेसको सर्म्पर्क कार्यालय स्थापना

हेेमजा, २३ कात्तिक। नेपाली काँग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बिहीबार कास्की क्षेत्र नं. ३ को हेमजास्थित मिलनचोकमा सर्म्पर्क कार्यालय स्थापना गरेको छ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार शुक्रराज शर्माले नेपालमा काँग्रेसको अगुवाईबाट मात्रै परिवर्तन भइरहेको दावी गर्दै नेपालमा लोकतान्त्रिक शक्तिले मात्रै समृद्घि ल्याउन सक्ने बताए।

शर्माले जनताको सेवा गर्न मान्छेलाई हैसियत चाहिने रहेछ भन्दै आगामी निर्वाचनमा काँग्रेसलाई मतदान दिई नेपाली जनताले आफूलाई हैसियत दिने विश्वास पनि व्यक्त गरे। उनले आफूलाई मत दिई जनताको सेवा गर्ने मौका दिन आग्रह समेत गरेका थिए।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आगामी चुनावलाई लोकतन्त्र र अधिनायकवादको लर्डाईसँग तुलना गर्दै नेपाली काँग्रसलाई लोकतन्त्र पक्षधरको पार्टीका रुपमा चित्रण गरे। उनले लोकतन्त्रलाई सिध्याउन वाम गठबन्धन गरिएको तर्क गर्दै त्यसलाई नेपाली जनताले आफनो मताधिकार मार्फत निरुत्साहित गर्ने उनको भनाइ थियो। प्रदेशसभा ३ क की उम्मेदवार शारदा पौडेलले आगामी निर्वाचनले लोकतन्त्रलाई स्थापित गर्ने बताइन्। उनले चुनाव प्रचारप्रसारमा खट्न पार्टीनेता कार्यकर्तालाई आग्रह पनि गरिन्।

नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने दावी गरे। दलित संघका जिल्ला अध्यक्ष दुर्गाबहादुर सुनारले निर्वाचनमा वामपन्थीले अहमता प्रस्तुत गरेको भन्दै त्यस्तो प्रवृति नेपाली जनताले चिनिसकेको बताए।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठी तथा काँग्रेस प्रवेश गरेका अनेरास्ववियुका नेता गणेश रोकाले पनि बोलेका थिए।

काँग्रेस हेमजा इकाइ संयोजक मधुसुदन त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम इकाइका सचिव मोतिराज तिम्सिनाले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता