लेखनाथमा न्यूनी पूजा शुरु

लेखनाथ, २३ कात्तिक। दिगो शान्तिको कामना गर्दै कर्म त्रियन धर्मचक्र बौद्ध विहार पोखरा २९, सैनिक वस्तीले बिहीबारदेखि पाँचदिने न्यूनी पूजा शुरु गरेको छ।

एक दिन प्रवचन र अर्को दिन मौन ध्यान बस्ने धार्मिक प्रचलन रहेको पूजामा यस क्षेत्रका करिब ५५ जना भक्तजनको सहभागिता छ।

पारिवारीक खुशी र देश एवं समाजमा दिगो शान्ति कायम गर्ने धार्मिक विश्वासका साथ थालनी गरिएको पूजामा गुम्बाका प्रमुख लामा छिरिङले प्रवचन दिनेछन्।

पूजा सम्पन्न गर्न समाजसेवी चन्द्रकुमारी गुरुङले दुर्इ लाख आर्थिक सहयोग गरेकी छन् भने अन्य भक्तजनको पनि सहयोग रहेको बताइएको छ।

पूजा व्यवस्थित गर्न गुम्बाका अध्यक्ष सु चन्द्रबहादुर गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति बनाइएको छ। जसको सहसंयोजक चोकबहादुर गुरुङ र बुद्धिमाया गुरुङ रहेकी छन्।

- अादर्श समाज सम्वाददाता