प्रतिष्ठान र इन्स्टिच्युटका विद्यार्थी आन्दोलित

पोखरा, २२ कात्तिक। पोखरा २१, काहुँभज्याङस्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्टिच्युटका विद्यार्थी आन्दोलित भएका छन्।

फार्मेसी, नर्सिङ तथा सामान्य चिकित्सा संकायका विद्यार्थीले विभिन्न १४ बुँदे माग सहित क्याम्पस प्रशासन र लेखाशाखामा बुधबार तालाबन्दी गरेका छन्।

विद्यार्थीले बिहान ६ बजेबाट फार्मेसी संकायको पठनपाठन शुरु गर्नुपर्ने, यातायातको व्यवस्था, खाना तथा खाजा गुणस्तर हुनुपर्ने, आवास सुविधा व्यवस्थित गर्नुपर्ने, इ-लाइब्रेरी व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन्।

आन्दोलनका लागि गठित संघर्ष समितिले बुधबार पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्याम्पस प्रमुख चन्दन श्रेष्ठ र पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्टिच्युटका क्याम्पस प्रमुख दिलीप सुवेदीलाई ज्ञापनपत्र बुझाएका थिए।

विद्यार्थीले यथाशीघ्र माग पूरा गर्न दबाब दिँदै बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। विद्यार्थीको भेलाले आन्दोलनका लागि संघर्ष समिति समेत गठन गरेका छन्। ती संकायमा झण्डै तीन सय ६० विद्यार्थी अध्ययनरत छन्।

यसैबीच, क्याम्पस प्रशासनले बुधबार नै सूचना प्रकाशित गरी पठनपाठनका लागि असहज अवस्था सृजना भएको भन्दै क्याम्पस बन्द गरेको जनाएको छ।

- अादर्श समाज सम्वाददाता