हरिहर आश्रममा बालाचतुदशी मेला हुने

पोखरा, २२ कात्तिक।  पोखरा २०, भलामस्थित हरिहर सन्यास आश्रममा यस वर्ष पनि बालाचतुदशी मेला हुने भएको छ ।

हरिहर गुफा सेवा समितिले बुधबार पत्रकार सम्मेलन गरी आगामी मंसिर १ गते बालाचतुदशीका दिन मेलासँंगै सद्वीज छर्ने कार्यक्रम रहेको जनाएको हो ।

मेला सफल विभिन्न उपसमिति गठन गरिएको समितिका सचिव गणेशबहादुर खत्रीले जानकारी दिए।

आश्रममा आवश्यक शान्तिसुरक्षा, एम्बुलेन्ससहितको स्वास्थ्य सेवा र खानेपानी लगायत पूर्वाधारको तयारीमा जुटेको समितिले जनाएको छ। आश्रमसम्म जाने बाटो सफा गरिएको छ। श्रद्धालु भक्तजनहरुको सुविधाका लागि आश्रमसम्म उक्त दिन बस सेवा सञ्चालनका लागि समितिले प्रयास गरेको जनाएको छ ।

पोखरादेखि नजिकै रहेरपनि ओझेलमा परेको पर्यटकीय एवम् धार्मिक आश्रममा हाल ११ जना ज्येष्ठ नागरिकले आश्रय लिँदैआएका छन् ।

आश्रममा स्वदेशीमात्र नभइ विभिन्न मुलुकका धार्मिक पर्यटनसँंगै हरेक वर्ष सत्वीज र्छन १० हजार बढी श्रद्धालु भक्तजन आउने गरेको आश्रमले जनाएको छ।

वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले आगामी वर्षदेखि साताब्यापी रुपमा मेला तथा महायज्ञको आयोजना गरिने जनाए ।

आश्रम रहेको ठाउँमा खानेपानीको व्यवस्था नभएकाले आगामी वर्षमा हरिहर क्षेत्रलाई महानगरसं’ग समन्वय गरेर खानेपानी सुलभ बनाउने गुरुङले प्रतिवद्धता जनाए।

३५ रोपनी क्षेत्रफलमा फैलिएका आश्रमस्थलमा ‘श्री हरिहर भगवान’ इष्टदेव रहेको मन्दिर परिसरमा पञ्चमुखी हनुमान, गणेश, अम्बरेश्वर शिवालय स्थापना गरिएको छ।

१९०६ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्टदेव हरिहर भगवानको पूजा आराधना गर्नू र मन्दिर वरिपरिको वन गुलजार गर्नू भनी अदल तोकेर सनदपत्र जारी गरेका थिए। २०४६ मा विधिवत संस्था दर्ता र २०५८ को साधारणसभाबाट गलेश्वर आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरीजी महाराज र त्यसपछि उनका शिष्य महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीको संरक्षणमा आश्रम सञ्चालन हुँदै  आएको छ।

- अादर्श समाज सम्वाददाता