वाम गठबन्धनको घोषणापत्र सार्वजनिक  

राजनीतिक स्थायित्व र आर्थिक विकास प्राथमिकता

काठमाडौ, २१ कात्तिक। नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले नेपाललाई समुन्नत राष्ट्र बनाउने र राजनीतिक स्थायित्व कायम गर्ने घोषणा गरेको छ। प्रतिनिधिसभा र प्रदेसशभा सदस्य निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा आगामी ५ वर्षभित्रै मुलुकलाई समृद्ध राष्ट्रको पंक्तिमा पुर्‍याउने महत्वकांक्षी लक्ष्य उल्लेख गरेको छ।

घोषणापत्रमा आगामी २ वर्ष, ३ वर्ष, ५ वर्ष र १० वर्षमा अवधिमा गरिने देश निर्माणका योजना र कार्यक्रम उल्लेख छ। १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य घोषणापत्रमा उल्लेख छ।

घोषणापत्र नेपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सामूहिक रुपमा सार्वजनिक गरेका हुन्।

‘स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, सुशासन र समृद्धिको लागि वामपन्थी सरकार’ नाम दिइएको साझा चुनावी घोषणापत्र ४८ पृष्ठ लामो छ। वामपन्थी तालमेल र पार्टीएकता राष्ट्रको ऐतिहासिक आवश्यकता, समृद्धि हासिलका लागि गर्नुपर्ने कार्यदेखि सामाजिक आर्थिक रुपान्तरणका मुख्य नीति घोषणापत्रमा समावेश छन्।

२०७२ को विनासकारी भूकम्पबाट क्षत्रि्रस्त संरचना पुनःनिर्माण २०७६ सम्ममा सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताए। राष्ट्रियस्तरमा विपत् व्यवस्थापनको लागि स्थायी संयन्त्र निर्माण गर्ने वाम गठबन्धनको योजना रहेको उनले बताए।

संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य सन् २०३० सम्ममा हासिल गरिसक्ने वाम गठबन्धनको भनाइ छ। छिमेकी तथा बाहृय मुलुकसँग गरिएका असमान सन्धिसम्झौता राष्ट्रिय हित अनुकूल परिमार्जन गर्दै लैजाने घोषणापत्रमा उल्लेख छ। संयुक्त राष्ट्रय संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनले स्थापित गरेका मान्यता आधारमा सबै देशसँग सुमधर सम्बन्ध कायम गरिने जनाइएको छ।

भूमिको वैज्ञानिक व्यवस्थापन, विद्युत् तथा उर्जा वृद्धि, अन्तर्राष्ट्रिय सर्म्पर्क तथा हवाइ र जलमार्ग, माध्यमिक तहसम्म निःशुल्क शिक्षा, सबै नागरिकलाई सुलभ स्वास्थ्य, प्रदेश र स्थानीय तहको सृदृढीकरण, गाउँ सहरमा सहकारी मार्फत घरघरमा रोजगारीजस्ता योजना घोषणापत्रमा उल्लेख छ।

सूचना प्रविधि र प्रेस स्वतन्त्रता, कुरीति र अन्धविश्वास अन्त्यका लागि सशक्तिकरण कार्यक्रम लगायतका विषयमा बोलेको घोषणापत्र एमाले र माओवादीले संविधानसभा निर्वाचन २०७० मा उठाएको मुख्य मुद्दा कार्यकारी राष्ट्र प्रमुखको विषयमा भने मौन छ। वामपन्थी गठबन्धनको घोषणापत्रमा छिमेकी तथा बाहृय मुलुकसँग गरिएका सबै असमान र अपमानजनक सन्धि सम्झौता राष्ट्रिय हितअनुरुप प्रतिस्थापन गरिने बताइएको छ। तर, कुन कुन सन्धि त्यस्ता असमान र अपमानजनक हुन् भन्ने स्पष्ट उल्लेख गरिएको छैन। भारतीय पक्षसँग भएका महाकाली सन्धि, १९५० को सन्धि, अपर कर्ण्ााली, अरुण तेस्रोदेखि लिएर चिनियाँ पक्षसँग गरिएको बूढीगण्डकी आयोजनासम्बन्धी सम्झौताबारे नेपालमा बहस हुँदै आए पनि एमाले र माओवादीको घोषणापत्रमा यसबारे स्पष्ट पारिएको छैन।

त्यसैगरी, मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने विषय पनि वाम गठबन्धनको घोषणापत्रमा परेको छैन। घोषणापत्रमा ‘राष्ट्रवाद’ भन्ने एउटा पनि शब्द परेको छैन।

एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले भारत र चीन दुवैसँग सन्तुलित छिमेक सम्बन्ध राख्ने बताए। ‘हाम्रो विकासका लागि कतैतिर ढल्कदैनौं’-ओलीले भने। भारत र चीनसँगको सम्बन्ध कसैले क्षणिक स्वार्थका लागि विर्गान चाहे पनि नसक्ने बताए।

ओलीले अहिले सार्क अफ्ठ्यारोमा रहेको बताए। सार्क अध्यक्ष भएर पनि नेपालले भूमिका खेल्न नसकेको बताउँदै उनले भने-निर्वाचनपछि यसलाई सक्रिय बनाउँछौं। तनाव हटाउने र समझदारी बढाउने मञ्चका रुपमा पुनःसदुपयोग गछौं।’ भारत र पाकिस्तान विवादका कारण इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन हुन सकेन। भारतले सार्कको सट्टा विमस्टेकलाई बढी महत्व दिएको छ।

- अादर्श समाज सम्वाददाता