पोखरा महोत्सव पुस २७ देखि

पोखरा, २१ कात्तिक। पोखरा युनाइटेड क्लबले आठौं संस्करणको पोखरा महोत्सवको तिथि तय गरेको छ ।

पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी क्लबले आगामी पुस २७ देखि माघ ८ सम्म पोखराको अमरसिंहचौरमा महोत्सव हुने जनाएको हो ।

महोत्सव तयारीका लागि क्लबका अध्यक्ष शुकबहादुर गुरुङ संयोजक रहेको मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष गुरुङले बताए।

देशको कला संस्कृति, भेषभूषा संरक्षणमा टेवा पुर्‍याउने, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी देशलाई समृद्धितर्फ लैजाने उद्देश्यले महोत्सवलाई निरन्तरता दिदैंआएको आयोजकले बताएको छ।

दुर्इ सय २० स्टलसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथमा कलाकारको दैनिक प्रस्तुति, बाल उद्यान र नेपाली सँस्कृति झल्कने प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने जनाइएको छ ।

यस्तै, महोत्सवमा विभिन्न जनजातिका कला सँस्कृति प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकला सामग्री तथा सूचना प्रविधि प्रदर्शनी, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय उपभोग्य वस्तु प्रदर्शनी, पर्यटन प्रबर्द्धनका सामग्री प्रदर्शनी र कृषि अटो मेला लगायत आकर्षण रहनेछन्।

क्लब महासचिव राजु श्रेष्ठले महोत्सवमा सुरक्षा तथा शौचालयको उचित प्रबन्ध, वाइफाइ व्यवस्था, महोत्सव हेर्न आउने दर्शकका लागि बिमाको सुविधा, पार्किङको राम्रो प्रबन्ध गरिने बताए।

महोत्सवबाट एक करोड १४ लाख आम्दानी र ७९ लाख खर्च तथा ३५ लाख बचत गर्ने आयोजकको अनुमान छ।

‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित स्थापना भएको क्लबले युवाहरुलाई कुलतबाट बचाउने उद्देश्यले खेलकुदको माध्यामद्वारा उनीहरुलाई सबल र सक्षम बनाउन खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पोखरामा मानवनिर्मित खुला चिडियाखाना निर्माणका लागि क्लबले पहल गर्दै आएको छ।

लेखनाथ पचभैया, चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा चिडियाखानाको पूर्वाधारमा क्लब जुटेको छ। क्लबले उज्यालो अभियान कार्यक्रममार्फत टोल टोलमा सौर्यबत्ति जडान गर्ने अभियान र पोखराको सेती नदी बचाऔं अभियानअन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

- अादर्श समाज सम्वाददाता