महिला उद्यमी संघ कास्कीमा गुरुङ

पोखरा, २० कात्तिक। महिला उद्यमी संघ नेपाल कास्कीको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले कासी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

संघको प्रथम उपाध्यक्षमा पार्वती पौडेल रेग्मी, द्वितीय उपाध्यक्षमा मिना बराल, सचिवमा किरण गौतम, कोषाध्यक्षमा शारदा बराल भुजेल र सदस्यमा एलिना बराल, सर्वदा गैह्रे, गोमा आचार्य र प्रतिभा गैह्रे सर्वसम्मत चयन भएका छन्।

प्रमुख अतिथि पोखरा लेखनाथ महानगपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै महिला उद्यमशीलताका लागि नगरपालिकाबाट हुन सक्ने सहयोगलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय अध्यक्ष शारदा रिजालले संघले सरकारी निकायसँग मिलेर काम गर्न इच्छुक भएको र महिला उद्यमीलाई प्रोत्साहित गर्ने कार्य गर्नुपर्ने बताइन्।

महिला उद्यमी संघ पर्वत जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य सरस्वती भण्डारीले महिलालाई आय आर्जनमा लाग्न प्रेरित गरी आत्मनिर्भर हुन सहयोग पुग्ने बताइन।

संस्थापक अध्यक्ष मीना गुरुङको संयोजकत्वमा सीता गुरुङ र कुलदेवी बराल सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।

सो अवसरमा महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष देवकी बरालले उद्यम, व्यवसाय गरेर बसेका महिला दिदीबहिनीलाई संगठित गरी उद्यमशीलताको विकास गर्न, स्वरोजगार बढाउन सहयोग पुगेको बताइन्।कार्यक्रममा सचिव किरण गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले आगामी दिनमा महिला उद्यमीको क्षमता अभिवृद्धी गर्न विभिन्न निकायसँग समन्वय गरी अगाडि बढ्ने बताइन्।

त्यस्तै, कोषाध्यक्ष पार्वती पौडेल रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक अभावमा महिला उद्यमी दिदीबहिनीको सोच अनुसार कार्यक्रम गर्न नसकिएको बताइन।

सदस्य शन्तु कुमारी गुरुङले महिलाले अधिकार पाए पनि घरमा पुरुषको बोलबाला चल्ने भएकोले महिला आफू सक्षम हुनुपर्ने बताइन्।

संघकी अध्यक्ष देवकी बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष कासी गुरुङले स्वागत र सञ्चालन सचिव किरण गौतमले गरेकी थिइन।

- एजेन्सी