अब पालो भैंसी सम्मेलनको

चितवन, १९ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एफयु) रामपुरलाई भविष्यमा भैंसीजन्य उत्पादन वृद्धिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा अनुसन्धानको केन्द्र बनाउने उद्देश्यका साथ चितवनको सौराहामा अन्तर्राष्ट्रिय भैैसी सम्मेलन २०१७ हुने भएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक र नेपाल सरकार, पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटको सहआयोजनामा सम्मेलन हुन लागेको हो।

आयोजक मूल समितिले आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भैंसी पालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेका नेपाल सहित विश्वका विभिन्न ११ देशका वैज्ञानिकहरु सम्मेलनमा सहभागी हुने जानकारी दिईयो। यही नोभेम्बर १५ देखि १८ गतेसम्म चितवनको सौराहामा सम्मेलन हुने भएको हो। सम्मेलन मूल आयोजक समितिकी अध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरकी डिन प्रा.डाशारदा थपलियाले पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैंसी उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा नेपाल सहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाईल्याण्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिकहरु सहभागी हुनेछन्। उनीहरुले भैंसीको उत्पादनसम्बन्धी विभिन्न विधामा कार्यपत्र प्रस्तुत गर्दैछन्। भैसीको प्रजनन् प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन प्रविधि, अनुवांशिक प्रविधि, भैंसीजन्य उत्पादनको सामाजिक-आर्थिक पक्ष, पशुजन्य खाद्य पोषणको प्रमुख श्रोतको रुपमा भैंसी उत्पादन जस्ता विषयमा ९० वटा कार्यपत्र प्रस्तुत हुने थपलियाले जानकारी दिईन्। ती कार्यपत्रहरुमा पाँच वटा विशेष, १४ वटा विशेष आमन्त्रित, ३५ वटा मौखिक, ३६ वटा पोष्टर प्रस्तुत हुनेछन्।

सम्मेलन मूल आयोजक समितिका सदस्यसचिव डा भूमिनन्द देवकोटाले सम्मेलनमा इन्टरनेशनल बफेलो फेडेरेसनका महासचिव एन्तोनि बोरगिज, एशियन बफेलो एशोसिएसनका अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्षहरु एवं विशिष्ट वैज्ञानिकहरुको सहभागिता रहने जानकारी दिए। नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यस किसिमको वैज्ञानिक सम्मेलनले भविष्यमा भैंसी उत्पादन क्षेत्रमा यसको उत्पादन एवं गुणस्तर वृद्धिको लागि सम्मेलन प्रभावकारी हुने उनले बताए। सम्मेलनले विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीहरुको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यस क्षेत्रमा कार्यरत वैज्ञानिकहरु, अनुसन्धान निकायहरु, विश्वविद्यालयहरु एवं सरकारी तथा गैरसरकारी संस्थाहरुको बीचमा बृहत सञ्जाल र सहकार्यको विस्तार गर्ने योजना रहेको देवकोटाले बताए।

एएफयूका उपकूलपति प्राडा इश्वरीप्रसाद ढकालले नेपालमा कूल दुग्ध उत्पादनको दुर्इ तिहाईभन्दा बढी र कूल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैंसीको उत्पादनले ओगटेको जानकारी दिए। विश्वका ४२ देशमा भैंसी पालन हुँदै आएको भन्दै उनले विश्वभरमा १८ करोड ५० लाख भैंसी पालिएकोमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख र नेपालमा ५२ लाख भैंसी पालन हुँदै आएको बताए।

यो सम्मेलनबाट आएको निचोडले नेपाल सरकारलाई मार्गनिर्देशन गरी नीति निर्माण गर्न समेत सहयोग पुग्ने विश्वास उपकूलपति ढकालले व्यक्त गरे। नेपालमा लिमे, पार्काेटे र गड्डी जातका रैथाने र मुर्रा र मुर्रा क्रस जातका उन्नत भैसी पालिंदैआएको छ।

- अादर्श समाज सम्वाददाता