ऐर्श्वर्यको तीनदिन कलेक्शन रिपोर्ट 

मुनाफातर्फ फिल्मको व्यापार

पोखरा, १२ कात्तिक। दर्शकले फिल्म ऐर्श्वर्यलाई निकै रुचाएका छन्। गीत र प्रोमोको कारण हलसम्म तानिएका दर्शक ऐर्श्वर्यको उत्कृष्ट मेकिङबाट अझै बढी सन्तुष्ट भएर फर्केका छन्। छठ पर्वदेखि प्रदर्शनमा आएको यो फिल्मको कलेक्शनले पनि यो कुरालाई अझै बढी पुष्टी गरेको छ।

वितरण कम्पनी डिसिएनले दिएको अंकगणितिय रिपोर्टलाई आधार मान्ने हो भने तीनदिनमा यो फिल्मले दुर्इ करोड भन्दा बढी कलेक्शन गरिसकेको छ। पहिलो दिन उपत्यकामा २८ लाख ८६ हजार एक सय सात रूपैयाँ कलेक्शन गरेको फिल्मले उपत्यकाबाहिर १९ लाख ३० हजार पाँच सय ७५ रूपैयाँ कलेक्शन गर्‍यो।

त्यस्तै दोस्रो दिन शुक्रवार सरकारले दिएको सार्वजनिक विदाको प्रत्यक्ष असर ऐर्श्वर्यको कलेक्शनमा देखियो। अघिल्लो दिनको तुलनामा दोस्रो दिन फिल्मको व्यापार अझै बढी भएको कलेक्शन रिपोर्टले देखाउँछ। पहिलो दिनकुल ४८ लाख १६ हजार छ सय ८२ रूपैयाँ कलेक्शन गरेको फिल्मले दोस्रो दिन ५७ लाख ५० हजार ९३ रूपैयाँको कलेक्शन गरेको डिसिएनले बताएको छ। दोस्रो दिनउपत्यकाभित्र ३२ लाख ६६ हजार सात सय ४३ रूपैयाँ र मोफसलबाट २४ लाख ८३ हजार तीन सय ५० रूपैयाँ कलेक्शन भएको डिसिएनको रिपोर्ट छ।

शनिवार फिल्मको अंकगणितिय रेखा अझै उकालो चढेको रिपोर्टमा देखिन्छ। यो दिन फिल्मले कुल ९६ लाख ३० हजार सात सय नौ रूपैयाँ कलेक्शन गरेको छ। उपत्यकामा ५६ लाख ६४ हजार छ सय ३७  र उपत्यकाबाहिर ३९ लाख ६६ हजार एक सय ७२ रूपैयाँको शनिवारे कलेक्शन रिपोर्ट डिसिएनले उपलब्ध गराएको छ।

तीनदिने कलेक्शन रिपोर्टको आधारमा भन्ने हो भने अबका दिनमा फिल्म ऐर्श्वर्य मुनाफाको व्यापारतर्फ उन्मुख छ। करिब एक करोड रूपैयाँको लागतमा निर्माण भएको फिल्म नेपाली हलहरूको व्यापारबाटै मुनाफामा जाने निश्चित देखिन्छ। फिल्मको व्यापारलाई लिएर निर्माण यूनिट निकै दंग देखिन्छ। साथै लामो समयपछि नेपाली फिल्ममा निर्माण सहित कमब्याक गरेका अभिनेता रमेश उप्रेती पनि आफुलाई दर्शकले अझै माया दिएकोमा कृतज्ञ देखिन्छन्।

फिल्म ऐर्श्वर्य दुर्इवटा ठुला घरानाकाव् यवसायीबीचको द्वन्दमा आधारित छ। पैसा, शक्ति र पावरको प्रयोगले के कसरी उच्च घरानीयाहरूले आफ्नो दबदबा राखिरहेका छन् – भन्ने कुरालाई फिल्ममा दर्शाउन खोजिएको छ।

रमेश उप्रेती, प्रशान्त ताम्रकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगाएतका कलाकारहरूको अभिनय रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्।

- एजेन्सी