सिद्धि शोक काव्यको विमोचन

पोखरा, १२ कात्तिक। सिद्धि शोक काव्यको पोखरामा एक कार्यक्रमबीच विमोचन गरिएको छ। थकाली समाज सेवाद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले शोक काव्यको विमोचन गरेका हुन्।

समाजसेवी विश्वमोहन गौचनकी धर्मपत्नी सिद्धि गौचनको स्मृतिमा कवि उमाकान्त पोखरेलले शोक काव्यको रचना गरेका हुन्। विश्वमोहन गौचनले कृतिको प्रकाशन गरेका हुन्। शोक काव्यभित्र १५ कविता संगृहीत छन्।

पञ्चायतकालीन शासन व्यवस्थामा स्व गौचन पोखरा नगर पञ्चायतको पहिलो वडा अध्यक्ष हुन्। स्व गौचन ०३८ सालमा तत्कालीन पोखरा नगर पञ्चायत वडा नं १ बाट वडा अध्यक्ष बनेकी थिइन्। ०३९ मा तत्कालीन राजा वीरेन्द्रबाट पश्चिमाञ्चल क्षेत्रको भ्रमणक्रममा स्व गौचनलाई सेवापदक प्रदान गरेका थिए।

कार्यक्रममा वरिष्ठ चिकित्सक डा वसन्तकुमार ताम्राकारलाई सिद्धि स्मृति सेवा सम्मान प्रदान गर्‍यो। प्रमुख अतिथि एवम् पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर नगद पाँच हजारसहित ताम्रपत्रद्वारा डा ताम्राकारलाई सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै जिसीले स्व सिद्धि गौचन महिला शसक्तिकरण र उत्थानका लागि अग्रणी महिला रहेको बताए। उनले सामाजिक क्षेत्रमा स्व. गौचनले पुर्‍याएको योगदानलाई महानगरपालिकाले गर्व गरेको बताए। ‘पछिल्लो पुस्ताका जनप्रतिनिधिलाई सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्न स्व गौचनको प्रेरणा काफी छ’-जिसीले भने।  कवि उमाकान्त पोखरेलले कृति ०६७ सालदेखिको घटनाको आधारमा लेखिएपनि कृतिको पृष्ठभूमि ०३५ देखिको रहेको उल्लेख गरे। पोखरेलले ०३५ मा आफ्नी आमा गुमाउँदाको पीडा र स्व सिद्धि गौचनको देहावसानलाई नजिकबाट नियालेर शोक काव्य तयार पारेको उल्लेख गरे। कृतिमार्फत मातृवात्सल्यको महत्वलाई उजागर गर्न खोजिएको उनको भनाइ छ।

प्राध्यापक ज्योति भट्टचनले स्व सिद्धि गौचनमाथि प्रकाश पार्दै नेपाली महिलाहरूका लागि स्व सिद्धि गौचन प्रेरणाको पुञ्ज रहेको उल्लेख गरिन्। भट्टचनले शोक काव्यमा आफूद्धारा थकाली भाषामा लेखेको कविता ‘आन सिद्धि’ अर्थात सिद्धि दिदी वाचन गरेकी थिइन्।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १ की वडा अध्यक्ष शारदा पराजुलीले जनप्रतिनिधिका रूपमा छाडेका पदचापहरूलाई पूरा गर्ने प्रतिबद्धता जनाइन्। कार्यक्रममा सम्मानित वरिष्ठ चिकित्सिक डा वसन्तकुमार ताम्राकारलगायतले बोलेका थिए।

थकाली सेवा समाजका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक ज्योति भट्टचनले स्वागत र समाजकी सदस्य सवी शेरचनले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता