एमाले कास्कीमा चरम अन्तरविरोध

नेपाल पक्षले दिए केन्द्रमा उजुरी

पोखरा, ११ कात्तिक । उम्मेदवार मनोनयनमा धाँधली भएको भन्दै कास्की एमालेमा अन्तरविरोध देखिन थालेको छ। एमालेभित्रै एक खेमालाई षड्यन्त्रपूर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै केन्द्रिय स्थायी कमिटिमा उजुरी परेको छ।

कास्कीबाट नेपालपक्ष सिफारिसमै ‘क्लिन स्विप’ भएको थियो। प्रदेशसभाका आकांक्षी एमालेका पुराना नेता श्रीनाथ बराल, प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुलबहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु वनवासी र पुण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रिय कमिटिमा पठाएका हुन्। प्रदेश कमिटि हुँदै सिधै केन्द्रमा उजुरी दर्ता गरेको नेताहरुले बताएका छन्।

एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरेको भने पनि नेपाल पक्षले भने षड्यन्त्रपूर्वक आफूहरुलाई पराजित गरेको आरोप लगाएका छन्। ‘पार्टीभत्रको सत्ताको चरम दुरुपयोग भएको छ।

षड्यन्त्रपूर्वक हामीलाई पराजित गरियो’-एक नेताले भने-‘संस्थापन पक्ष विरुद्ध हामीले उजुरी दर्ता गरेका छौं। यो पद्दतिले पार्टीलार्इ नै घाटा हुनेछ।’ शुरुमा सर्वसम्मत गर्ने भनिए पनि अन्तिम समयमा अनपेक्षित रुपले भोटिङ गरिएको ती नेताको गुनासो छ। पार्टीको एउटा खेमालाई निषेध गर्नकै लागि बहानाबाजी गरिएको असन्तुष्टहरु बताउँछन्।

एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु वनवासी नेपाल पक्षका मानिन्छन् भने पुण्य पौडेल वामदेव पक्षका रुपमा चिनिन्छन्। गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको भन्दै एमालेभित्रै बहस हुन थालेको छ। उम्मेदवार सिफारिस भोटिङ मार्फत गरिएको भनिए पनि आफू चुनावी प्रक्रियामा सहभागी नै नभएको सांसद वलीले बताएकी छिन्।

अर्का सांसद तुलबहादुर गुरुङले असहमति जनाउँदा जनाउँदै संस्थापन पक्षले अटेर गरेको आरोप लगाए। उम्मेदवार सिफारिसकै दिन वली र गुरुङले निवेदन दिएर निर्णय सच्याउन माग गरेका थिए। तर निवेदनको सुनुवाइ नभएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्। ‘नियोजित रुपमै एउटा विचारमाथि आस्था राख्नेलाई निषेध गरिएको छ’-नेता गुरुङले भने-‘यो सरासर गल्ती हो। पार्टीको निर्णय प्रजातान्त्रिक हिसाबले कार्यान्वयन गरिनुपर्छ।’

एमाले कास्कीले भने निर्वाचनको परिणाम नै केन्द्रमा पठाएको बताएको छ। ‘केन्द्रले कम्तिमा एक महिला सहित तीन/तीन जनाको नाम पठाउन निर्देशन गरेको थियो। हामीले त्यही निर्देशन पालना गरेका हौं’-एक नेताले भने-‘आकार घटाउन भोटिङ गर्नुपर्ने बाध्यता भयो। त्यसले राम्रा नेताहरु पनि पछि पर्नुभयो।’ सबै नेताहरु भोटिङबाट पराजित भएका सिफारिस समितिले जनाएको छ। ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पुर्‍याएको एमाले नेताहरु नै बताउँछन्। स्थानीय तहको चुनावमा पनि नेपाल पक्षधर नेताहरु मतदान प्रक्रियाबाट पराजित भएका थिए।

बराल प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ -ख), वनवासी क्षेत्र नम्बर १ -क), गुरुङ क्षेत्र नम्बर २ -क), पौडेल क्षेत्र नम्बर ३ -ख) र वली प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ३ का आकांक्षी थिए। एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सबै क्षेत्रका उम्मेदवार भोटिङमार्फत टुंग्याएको थियो।

- अादर्श समाज सम्वाददाता