दल उम्मेदवार टुंग्याउने तयारीमा

पोखरा, कात्तिक ९। आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै कास्कीमा टिकट हात पार्न नेताहरूको चहलपहल केन्द्रमा बढेको छ। अधिकांश सम्भावित नेताहरू केन्द्रमा पुगेका छन्। सबै राजनीतिक दलका जिल्लास्तरीय कमिटीबाट केन्द्रमा उम्मेदवार सिफारिस गरिसकेका छन्। अधिकांश दलले त्यसैलाई आधार मानेर उम्मेदवार टुंग्याउने बुझिएको छ भने केही दलमा उम्मेदवार दायाँबायाँ पनि हुन सक्छन्। प्रदेश ४ को सबैभन्दा बढी निर्वाचन क्षेत्र भएकोले पनि कास्कीको चुनावले खास अर्थ राख्छ। कास्कीमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका लागि निर्वाचन क्षेत्र तोकिएको छ। वाम र लोकतान्त्रिक दुवै गठबन्धन कास्कीमा बलिया प्रतिष्पर्धी हुन्। यद्यपि टिकट कसले ल्याउँछ भन्नेमा पनि भर पर्छ। अहिले चर्चा र सबैको ध्यान उम्मेदवार को बन्छन् भन्नेमा केन्द्रित छ।

जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति, संघीय समाजवादी फोरम लगायतका दल बढी क्रियाशील छन्। यद्यपि गठबन्धनका कारण सबै दल दुर्इ धारमा समाहित हुने सम्भावना पनि बढी छ। त्यसो भएमा कास्कीमा उम्मेदवार पनि निकै कम हुनेछन्। माओवादी र एमालेबीच यसअघि नै चुनावी सहकार्य भएकाले दुवै दलले मिलेर उम्मेदवार प्रस्तुत गर्नेछन्।

काँग्रेसमा पनि राप्रपा, नयाँ शक्ति लगायत दल मिल्न सक्ने सम्भावना छ। त्यसो भएमा वाम र लोकतान्त्रिक गठबन्धनका मात्रै उम्मेदवार हुन सक्ने सम्भावना पनि जीवितै छ। दोश्रो चरणमा चुनाव हुने जिल्लामा निर्वाचन आयोगले कात्तिक १६ मा मनोनयन गर्ने मिति तोकेको छ। त्यसका लागि निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिसकेको छ।

समग्रमा केही बलियो देखिएको वाम गठबन्धनले कास्कीमा तीनवटै प्रतिनिधिसभाका लागि एमालेबाट उम्मेदवार बनाउने तयारी छ भने दुर्इवटा प्रदेशसभाका निर्वाचन क्षेत्रमा चाहीँ माओवादीलाई सघाउने तयारी बुझिन्छ। यद्यपि नटुंगिएसम्म यसै भन्न सक्ने अवस्था छैन। कास्की क्षेत्र १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने अधिक सम्भावना छ। लोकतान्त्रिक गठबन्धनमा पनि क्षेत्र १ बाट यज्ञबहादुर थापा वा तारानाथ रानाभाट, २ मा गुरु बराल, शोभियतबहादुर अधिकारी र देवराज चालिसेमध्ये एक जना टिकटका दावेदार हुन्। ३ बाट शुक्रराज शर्मा वा शारदा पौडेल टिकटका लागि कसरत गरिरहेका छन्। महादेव गुरुङ पनि मुख्य दावेदार नै हुन्।

उनलाई समानुपातिकमा लगेर शर्मालाई टिकट दिन सक्ने श्रोत बताउँछ। वाम गठबन्धनबाट माओवादीले पनि कास्कीमा प्रतिनिधि सभाका लागि एक सिटमा दावी गरेको सुनिन्छ।

प्रदेशतर्फ वाम गठबन्धनले क्षेत्र नम्बर १ को (क) र २ को (ख) माओवादीलाई दिने बुझिएको छ। यस विषयमा पनि छलफल भैरहेको माओवादी श्रोत बताउँछ। श्रोतका अनुसार माओवादीले २ नम्बरको (क) मागिरहेको छ। त्यसो भएमा एमाले अध्यक्ष कृष्ण थापा आफ्नै क्षेत्र अर्थात् २ को (ख) बाट चुनाव लड्न सक्छन्। वाम गठबन्धनले १ (क) मा माओवादीबाट झलकपाणि तिवारीलाई अघि सारेको छ। अर्का उम्मेदवार राजकाजी गुरुङले २ को -क) नछोड्ने बुझिएको छ। क्षेत्र नम्बर ३ मा माओवादी गए रामजी बराल ३ (ख) बाट उम्मेदवार बन्ने सम्भावना पनि छ। १ (ख) मा एमालेका मनबहादुर गुरुङ, २ (क) मा अध्यक्ष कृष्ण थापा, ३ (क) मा नारायण बास्तोला र -ख) मा राजीव पहारीलाई टिकट दिने बढी सम्भावना रहेको एमाले श्रोत बताउँछ।

लोकतान्त्रिक गठबन्धनमा प्रदेशतर्फ निकै धेरै कसरत गर्नुपर्ने देखिएको छ। १ (क) र २ (ख) मा निकै धेरै बलिया आकांक्षी रहेकाले यो क्षेत्रमा टिकट कसले ल्याउँछ भन्ने अनुमान लाउन अझै कठिन छ। १ (क) मा बुद्धिमान गुरुङ र कोपिला रानाभाट टिकट नजिक छन्। (ख) मा जिल्ला सभापति समेत भएकाले कृष्ण केसीले टिकट ल्याउने कुरा बुझिएको छ। २ (क) मा केशर निदोर्षी र क्षेत्रीय सभापति विजयराज आचार्यको सम्भावना बलियो छ। २(ख) काँग्रेसका लागि टिकट टुंग्याउन निकै कठिन छ। अझै पनि सबैजसो उम्मेदवारको पल्ला उत्तिकै छ। नरेशशंकर पालिखे, माधवप्रसाद बास्तोला, वीरेन्द्रनारायण विजुक्छे, विन्दुकुमार थापा र सुनयना पालिखे उस्तै बलिया मानिन्छन्। नरेशको हकमा पार्टीकेन्द्रिय कार्यालयमा अघिल्लो चुनावमा पार्टीकाई असहयोग गरेको उजुरी छ तर पनि पालिखेको सम्भावना प्रवल रहेको श्रोत बताउँछ। ३ नम्बर क्षेत्र (क) मा रामचन्द्र त्रिपाठी र (ख) मा तरुण दल अध्यक्ष मनोज गुरुङलाई टिकट दिने सम्भावना बुझिएको छ।

यसअघि, काँग्रेस कास्कीले डेढ सय बढीको नाम केन्द्रमा सिफारिस गरेको थियो भने एमालेले प्रत्येक क्षेत्रबाट ३/३ जनाको नाम सिफारिस गरेको थियो। खगराज र रवीन्द्र भने सवसम्मत सिफारिस भएका हुन्। माओवादीले पनि किस्ताबन्दीमा आफ्ना सम्भावित उम्मेदवारको नामावली सिफारिसका लागि केन्द्र पठाएको थियो। नयाँ शक्तिले सबै क्षेत्रमा उम्मेदवार सिफारिस गरिसकेको छ।

यद्यपि गोरखामा काँग्रेससँग सहकार्य भएकाले अन्य जिल्लामा पनि गठबन्धन हुने हो कि भन्ने विषयमा अलमल छ।

कास्कीमा कुल मतदाता दुर्इ लाख ५५ हजार ४ सय ५२ छन्। तीमध्ये पुरुष एक लाख १९ हजार २ सय ९४, महिला १ लाख ३६ हजार १ सय ५४ र ४ जना तेश्रो लिङ्गी छन्। प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६ सय ५१ र क्षेत्र नं ३ मा ८८ हजार ७ सय १७ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ। पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रूपा गाउँपालिकामा गरी जिल्लामा १ एक ५० मतदानस्थल र ३ सय १७ मतदान केन्द्र कायम निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालय खुल्यो

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कास्कीमा मुख्य र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, निर्वाचन अधिकृत जगन्नाथ पौडेल र गंगाप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा निर्वाचन कार्यालय स्थापना गरिएको हो। जिल्ला समन्वय समितिको कार्यालयमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, उपत्यका नगर विकास समितिको कार्यालयमा क्षेत्र १ को निर्वाचन अधिकृत र डिभिजन सहकारी प्रशिक्षण कार्यालयमा क्षेत्र २ को  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले चुनावी रौनक कास्कीमा शुरु भैसकेको बताए। उनले यो वर्ष निर्वाचनमय भएको भन्दै तीनै चरणको चुनाव शान्तिपूर्ण सम्पन्न हुने उल्लेख गरे।

‘स्थानीय तहको चुनावमा हामीले सफलता पाइसकेका छौं, अब प्रदेश र प्रतिनिधिसभाको चुनाव पनि शान्तिमय रूपमा सम्पन्न गछौ’-उनी भन्छन्-‘सबैले आफ्नो ठाउँबाट सघाउनुहुन अनुरोध गर्दछु।’

स्वच्छ, निष्पक्ष र भयरहीत चुनाव गराउन आफू प्रतिबद्ध रहेको उनले बताए। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आगामी चुनावका लागि आवश्यक सबैखाले सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। यसअघि ४ निर्वाचन क्षेत्र रहेको कास्कीमा क्षेत्र निर्धारण आयोगको सिफारिसमा ३ निर्वाचन क्षेत्र कायम भएको छ। प्रदेशसभाका लागि भने ६ क्षेत्र तोकिएको छ। क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि चुनावसम्बन्धी गतिविधि शुरु हुनेछ।

- अादर्श समाज सम्वाददाता