उद्योगपति केसीले भने- मेरो सहयोग लोकतान्त्रिक गठबन्धनलाई

पोखरा, ९ कात्तिक । पोखराका प्रतिष्ठित व्यवसायी, उद्योगपति एवं पूर्व सभासद् सूर्यबहादुर केसीले लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिने घोषणा गरेका छन्।

पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी केसीले एमाले-माओवादी गठबन्धन मन नपरेको भन्दै लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन्।

‘लोकतान्त्रिक र गैरलोकतान्त्रिक शक्तिबीच धु्रवीकरण हुँदा के गर्ने भन्ने निर्णय लिन कठिन भाथ्यौ, अनिर्णयको बन्दी भएर बस्न पनि सकिनँ’-उनले भने-धेरै सोचेर लोकतान्त्रिक गठबन्धनमा लाग्ने निर्णय गरे।’

लामो समय राप्रपामा रहेर केही समयअघि राप्रपा छाडेका केसीले दृढताका साथ पत्रकार सम्मेलनमा भने -‘अब लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरें, गरें।’

काँग्रेस प्रवेशबारे सोधिएको प्रश्नमा उनले केही बोल्न चाहेनन्। साथीभाइसँग सल्लाह गरिरहेको र शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा पोखरा आएका बेला भेट हुने स्पष्ट पारे।

‘मैले चाहेर प्रवेश हुने होइन’-उनले भने-‘साथीभाइ र देउवासँगको भेटपछि मात्र काँग्रेस प्रवेशबारे टुंगो लाग्नेछ, त्यसपछि तपाईहरूले थाहा पाइहाल्नु हुनेछ।’ यद्यपि उनी काँग्रेसमा नै प्रवेश गर्न लागेको भन्ने विषयले चर्चा पाएको छ।

आफ्ना मिल्ने मित्र एमालेमा रहेको तथा भारतीय नाकाबन्दीताका प्रधानमन्त्री केपी ओलीले लिएको अडानलाई आफूले प्रशंसा गरे पनि एमालेले माओवादीसँग गठबन्धन गरेपछि एमाले मन नपरेको उनको भनाइ थियो। यद्यपि उनले एमालेलाई पनि कुनै बेला सहयोग गरेको स्वीकार गरे।

उनले माओवादीले आफ्नो नेता, आफन्त हर्कबहादुर गुरुङ र क्षेत्रबहादुर केसीको हत्या गरेको जीवनभर बिर्सन नसक्ने उल्लेख गरे। उनले एमाओवादीसँगले गठबन्धनले एमालेलाई कता लैजाने हो ठेगान नभएको समेत टिप्पणी गरे।

उद्योगपति केसीले कम्युनिष्टका कारण अधिकानायकवाद हावी हुने भन्दै प्रजातन्त्र, मौलिक अधिकार, मानवअधिकार, निजी सम्पत्तिमाथि व्यक्तिको हक संकटमा पर्ने बताए।उनले नेताहरूको आनीबानिका कारण एमाले-माओवादी गठबन्धन एकतासम्म पुग्न निकै कठिन रहेको बताए। नेताहरूको आनीबानी त्यही हो भन्दै उनले गठबन्धन अघि बढ्न निकै कठिन रहेको उल्लेख गरे।

उनले प्रजातन्त्रपछि काँग्रेसकै नीतिका कारण शिक्षा, स्वास्थ्य, बैंकिङ, आर्थिक र पर्यटन क्षेत्र चलायमान भएको र त्यसैलाई नेकपा एमालले पछ्याइएरहेको बताए।

उनले नेपालमा हिन्दू धर्म पुनस्र्थापित गरी हिन्दू राज्य घोषणा गर्नुपर्नेमा जोड दिए। कम्युनिष्टमा समेत ठूलो संख्यामा हिन्दूवादी रहेको भन्दै हिन्दू राज्यका विषयमा जनमत सङ्ग्रह भए कम्युनिष्टले समेत भोट हाल्ने उनको दावी छ।

- अादर्श समाज सम्वाददाता