गौतम ऋषि सहकारी अध्यक्षमा त्रिपाठी

लेखनाथ, ९ कात्तिक । गौतम ऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ३० को पाँचौ वाषिर्क साधारण सभा तथा तेस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ ।

साधारण सभा उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारीमा बसेर काम गरेको अनुभवलाई सहकारीकर्मीले महानगरपालिकाको सामाजिक विकासका लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै अघि बढ्न सुझाव दिए ।

उनले सहकारीले समन्वयकारी भूमिका निर्वाह गर्दै स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धनले मात्र पुँजी निर्माण सम्भव हुने बताए।

ंसंस्थाका अध्यक्ष नारायणप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, संस्थाका सल्लाहकार ऋषिराम त्रिपाठी, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कँडेल र पोखरा २८ का वडाअध्यक्ष निर्मल दियाली सुनार लगायतले सहकारीको नीति र सिद्धान्त अनुसार सहकारी चल्न नसकेको धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष भोलानाथ त्रिपाठीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव देवेन्द्ररमण त्रिपाठीले गरेका थिए ।

२०६९ सालमा स्थापना भएको उक्त संस्थामा ३ सय ३४ जना सेयर सदस्य रहेका छन् भने अहिलेसम्म ११ करोड रूपैयाँ कारोबार भएको कोषाध्यक्ष रामकृष्ण त्रिपाठीले जानकारी दिए।

यसैबीच, अधिवेशनले अगामी कार्यकालका लागि लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्रिपाठी लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

समितिको उपाध्यक्षमा रामकृष्ण त्रिपाठी, सचिवमा देवेन्द्ररमण त्रिपाठी, कोषाध्यक्षमा गोपीराज पौडेल र सदस्य भुवनेश्वर त्रिपाठी, बाबुराम तिवारी, मित्रकला त्रिपाठी रहेका छन्। त्यस्तै, लेखा समिति संयोजकमा बोधराज त्रिपाठी, सदस्यमा सविता पौडेल र कृतिराम पाण्डे चयन भए।

- अादर्श समाज सम्वाददाता