‘वाम गठबन्धनलाई भारतले सहज लियो’

काठमाडौं, ७ कात्तिक । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमा लिएको जानकारी दिएका छन् । उनले भने-‘खासगरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नु हुँदैन, आफ्नो अभिभारा नेपाली आँफैले लिनुपर्छ, चुनाव गर्ने जिम्मेवारी हाम्रो हो ।’

मंगलबार काठमाडौमा भएको कार्यक्रममा उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको समेत सुनाए । उनले भने-‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारत प्रतिनेपालले कहिल्यै शंका गर्नु हुँदैन ।’

भारतका लागि निवर्तमान राजदूत उपाध्यायले २ वर्षे कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर पुनः राजनीतिमै फर्किएको स्पष्ट पारेका छन् । उनले भने-‘जीवन पाठशाला हो, नमरुञ्जेलसम्म सिक्ने हो, समयमा विशेष भूमिका निर्वाह गरेर म पुनः राजनीतिमा फर्किएको छु, राजदूत भएका बेला पनि म तत्कालीन पार्टीसभापति सुशील कोइराला र तत्कालीन राष्ट्रपति रामवरण यादवको विशेष आग्रहलाई सम्मान गरेर राजदूतको भूमिका निर्वाह गरेको हुँ, मैले त्यतिबेला पनि र्फकन्छु भनेर नै जानकारी गराएको थिएँ ।’

दुर्इ वर्षे आफ्नो भारत बसाईको क्रममा आफूले विवेकले भ्याएसम्म खुल्ला हृदयले काम गरेको विश्वास दिलाए । उनले भने-‘अहिले नेपाल-भारत सम्बन्ध सुमधुर छ, प्रगाढ छ, मैले के कतिकाम गरें भन्ने कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ।’ उनले कपिलबस्तुजस्तो बुद्ध जन्मेको माटो, पवित्रभूमि र त्यहाँका जनताले आफूलाई माग गरेको सुनाउँदै कुटनीतिकबाट मर्यादित अवतरण लिएको स्पष्ट पारे ।

उनले अघि थपे-‘हिजो मेरो राजीनामा स्वीकृत भएको छ, यो मर्यादित कुटनीतिक अवतरणसँगै म नेपाल सरकार र सम्मानीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’ २ वर्षे कार्यकालको कोसलाई सहज रुपमा पूरा गरेर आफू पुनः राजनीतिमा नै सक्रिय हुन लागेको भन्दै नैतिक बन्धनबाट खुल्ला भएको महसुस आफूले गरेको उनले सुनाए ।

उनले संसद्को म्याद सकिएको अवस्थामा आफ्नो राजीनामा अन्तिम-अन्तिम अवस्थामा स्वीकृत भएकोले तत्काल राजदूत नियुक्त हुन नसक्ने अवस्था भए पनि नेपालको परराष्ट्र सेवा अत्यन्तै चुस्त-दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्या नआउने विश्वास दिलाए ।

उनले काँग्रेसले सकेसम्म चुनावी तालमेल नगरीकन एक्लै चुनाव लड्नुपर्ने भन्दै अहिले देखिएका चुनावी तालमेल पनि स्वभाविक रहेको स्पष्ट पारे । उनले लेफ्ट एलायन्स आक्रमक रुपमा उत्रिएकोले लोकतान्त्रिक शक्तिहरुबीच चुनावी तालमेलको प्रयास भैरहेकोले पहिलो कुरा देश र जनताले जित्नुपर्ने धारणा राखे । उनले भने-‘लोकतन्त्रले जित्नुपर्छ, देशले जित्नुपर्छ।’

- अादर्श समाज सम्वाददाता