मुख्य सचिवमा रेग्मी

पुनर्निर्माण प्राधिकरणमा भुषाल

काठमाडौ, ६ कात्तिक ।  सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उनी २४ औं मुख्य सचिव बनेका हुन् ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश लिँदै छन् । बैठकले शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी, बैठकले इन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, मोहनकृष्ण सापकोटा गृह, रेश्मीराज पाण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ । यसैबीच, सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले राजीनामा दिएपछि भुषाललाई सिइओमा नियुक्त गरेको हो । पोखरेल प्यूठानबाट चुनाव लड्ने चर्चा चलेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । नवनियुक्त राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले आउँदो माघ २ गतेभित्र पुननिर्माणको कार्यमा केही नतिजा देखाउने घोषणा गरे । उनले आउँदो माघ २ गते भूकम्प दिवस मनाउदाँसम्म आफूले गरेको कामको परिणाम देखाउने घोषणा गरे । आफूलाई राजनीतिक पहुँचबाट नियुक्त भएको आरोप लागेपनि आफू स्वतन्त्र, निष्पक्ष र क्षमताले नियुक्त भएको भन्दै उनले आफू सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय पुनर्र्निमाण प्राधिकरणका अनुसार असोज मसान्तसम्ममा भूकम्पबाट क्षत्रि्रस्त ६२ हजार एक सय ८८ वटा घर निर्माण भएका छन् । थप एक लाख ४७ हजार दुर्इ सय ९२ घर निर्माणाधीन छन् । हालसम्म पूरै किस्ता पाउने लाभग्राहीको संख्या १८ हजार दुर्इ सय ३६ छ । यस्तै, ९६ हजार सात सय २६ लाभग्राहीले दोस्रो किस्ता बुझेका छन् । पहिलो किस्ता मात्र पाउनेको संख्या ६२ हजार छ सय ४६ छ । भूकम्पबाट क्षत्रि्रस्त निजी घरको संख्या सात लाख ६७ हजार सात सय पाँच छ ।

- अादर्श समाज सम्वाददाता