‘स्थायी सरकार र समृद्धिका लागि वाम गठबन्धन’

लमजुङ, ६ कात्तिक। नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन स्थायी सरकार र समृद्धिका लागि भएको बताएका छन्। दुवै दलले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी त्यस्तो बताएका हुन्।

दुवै दलका जिल्ला इञ्चार्जले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा एमालेका केन्द्रीय सदस्य समेत रहेका मायानाथ अधिकारी र माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य पारसमणि पौडेलले दस्ताखत गरेका छन्। दुवै दलका जिल्ला इन्चार्ज सम्मिलित रहेको जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको विज्ञप्तिमा उल्लेख छ । सो समितिमा एमालेका जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल, जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, उपसचिव सुभाष पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट पोलिट्ब्यूरो सदस्य मोहनहरि पौडेल, जिल्ला सहइञ्चार्ज बुद्धिराम तमु, निवर्तमान सांसद लालबहादुर गुरुङ छन् ।

समितिले जिल्लास्थित आठ वटै स्थानीय तहमा संयुक्त रूपमा कार्यकर्ता प्रशिक्षण र भेलाको आयोजना गरी वामगठबन्धनको आवश्यकता र औचित्यको बारेमा प्रष्ट पार्दै चुनावी अभियानका लागि साझा कार्यक्रम बनाउने बताइएको छ । पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका उम्मेदवार माओवादी केन्द्रका कार्यालय सदस्य देवप्रसाद गुरुङले वाम गठबन्धन राष्ट्रिय आवश्यकता रहेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा, संविधानको कार्यान्वयन, समृद्ध नेपाल निर्माणका लागि हो भनेका छन् । उनले काँग्रेस सधैँ सत्ता र प्रतिपक्षमात्र हुन चाहने हुँदा पनि वाम एकताको खाँचो परेको बताए।

यसैगरी, निर्वाचन क्षेत्र नं ‘ख’ का उम्मेदवार एवम् एमालेका केन्द्रीय सचिव पिएस गुरुङले आफ्नो उम्मेदवारी आफ्ना लागि नभई जिल्ला, प्रदेश र मुलुककै भावि दिशा कोर्न, समाजवादी लक्ष्य प्राप्तिका लागि भएको दावी गरे। मुलुकमा संसद् नरहेको र पार्टीको शक्ति मापनको आधार स्थानीय निर्वाचन मात्र रहेको अवस्थामा त्यसले पहिलो पार्टीएमाले र तेस्रो पार्टीमाओवादी केन्द्रका बीचको गठबन्धनले आफूहरूको जित सुनिश्चित रहेको उनको दावी थियो।

प्रदेश सभा ‘क’ का उम्मेदवार एवम् एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडीले आफूले २०५४ सालमा गाविस अध्यक्ष भएदेखि लगातार जिल्लालाई केन्द्रमा राखेर काम गरिआएको बताए। उनले भने आफूहरूले स्थानीय तहको निर्वाचनमा गरेको चुनावी तालमेल विकसित भएर आज पार्टीएकताको चरणमा आएको हो। उनले यो निर्वाचन पार्टीएकीकरणका लागि परीक्षा भएको समेत बताए।

एमालेका जिल्ला इन्चार्ज मायानाथ अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन माओवादी केन्द्रका इन्चार्ज पारसमणि पौडेलले गरेका थिए।

मनाङबाट सात जनाको उम्मेदवारी

प्रतिनिधि सभा र प्रदेश सभाका लागि पहिचो चरणको निर्वाचनमा मनाङमा सात जनाको मात्र उम्मेदवारी दर्ता भएको छ। तीमध्ये नेपाली काँग्रेसबाट तीनजना, नेकपा एमाले तीन जना र एक स्वतन्त्र उम्मेदवार भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ। प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका जिल्ला सभापति एवम् पूर्व राज्य मन्त्री टेकबहादुर गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष पोल्देन छोपङ गुरुङ छन्।

यसैगरी, प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं १ मा काँग्रेसका चिन्तबहादुर घले र एमालेका दोर्जे जेन्डुल गुरुङ तथा निर्वाचन क्षेत्र नं २ का लागि काँग्रेसका कर्म गुरुङ र एमालेबाट खुन्डा लामा महिला उम्मेदवार भएको मुख्य निर्वाचनको कार्यालयका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले बताए। उनका अनुसार प्रदेशसभाका लागि क्षेत्रनं २ बाट राजीव गुरुङ स्वतन्त्र उम्मेदवारी परेको छ।

स्वतन्त्र उम्मेदवार बनेका राजीव गुरुङ ‘दीपक मनाङे’ का नामले परिचित व्यक्ति हुन्। उम्मेदवारी छनौटको एकसाता अघिमात्र राप्रपाबाट दलबल सहित एमाले छिरेर प्रत्यक्षतर्फ जिल्लाबाट एक्लो उम्मेदवारका रूपमा सिफारिस भएता पनि एमालेको प्रदेश कमिटीले उनी गुण्डा नाइके भएको पहिचान विभिन्न सञ्चारमाध्यमबाट भएपछि उनको उम्मेदवारी रद्द गरेको एमाले स्रोतले जनाएको छ।

- अादर्श समाज सम्वाददाता