हेमजा साहित्य प्रतिष्ठानमा सम्मान

पोखरा, ७ कात्तिक। हेमजा साहित्य प्रतिष्ठान हेमजाले १०९ औं लक्ष्मी जयन्ती विशेष समारोहका साथ मनाएको छ।

प्रतिष्ठानले देवकोटाको चर्चा, रचना वाचन, कृति लोकार्पण र स्रष्टा सम्मानसहितका कार्यक्रम गरेर देवकोटा जयन्ती मनाएको हो।

प्रमुख अतिथि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले प्रतिष्ठानको मुखपत्र हिमशिखरको १८ औं अंकको लोकार्पण गरे। उनले हेमजाले आफूलाई नेपाली साहित्यका क्षेत्रमा पृथक पहिचान बोकेको स्थलका रुपमा चिनाउन सफल भएको बताए।

सोही समारोहबीच प्रतिष्ठानलाई सहयोग गर्ने र अक्षयकोष स्थापनामा सहयोग गर्ने विष्णुकुमारी अधिकारी र रमेश भण्डारीलाई सम्मान गरियो।

प्रमुख अतिथि ढकाल, कार्यक्रमका सभाध्यक्ष कृष्णप्रसाद पौडेल र समाजसेवी गोपाल भुषाललगायतले उनलाई सम्मान अर्पण गरेका थिए।

लक्ष्मी देवकोटाबारे चर्चा गर्दै साहित्यकार सूर्य खड्का बिखर्चीले देवकोटा नेपाली साहित्यका विशिष्ट प्रतिभा  भएकाले उनको योगदानको चर्चा गरेर कहिल्यै नसकिने बताए।

हिमशिखर पत्रिकाको समीक्षा गर्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष गणेश शर्माले हिमशिखरले नयाँ र पुराना सबै प्रतिभाका लागि एउटा अवसर भएको बताउँदै आगामी दिनमा भएका कमीकमजोरीमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा संस्थाका सल्लाहकार रामचन्द्र त्रिपाठी,  छन्दमणि त्रिपाठी, सम्मानित व्यक्तित्व विष्णुकुमारी अधिकारी, वडा सचिव इश्वरीप्रसाद बास्तोला, वडा नागरिक मञ्चका संयोजक रमा त्रिपाठी, समाजसेवी कृष्ण कुँवर, साहित्यकार मदन भण्डारीलगायतले देवकोटाका बारेमा चर्चा परिचर्चा गरेका थिए।

अध्यक्षको आसनबाट बोल्दै प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले लेख रचना, शुभकामना र शुभेच्छा उपलब्ध गराउने सबैलाई आभार व्यक्त गरे। कार्यक्रममा प्रकाश त्रिपाठी, वसन्त बास्तोला, विष्णु बास्तोला, कृतिका त्रिपाठी, अनिल थापा, इमनाथ पौडेल, सुनिल गायकलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता