महिला कार्यालयको बजेट झण्डै दुर्इ करोड

लमजुङ, ६ कात्तिक। महिला तथा बालबालिका कार्यालयले चालु आर्थिक वर्षको आफ्नो बजेट एक करोड ७० लाख ५७ हजार रूपैयाँ भएको जनाएको छ।

मूल प्रवाहीकरण समन्वय समितिको बैठकमार्फत बजेट तथा कार्यक्रमलाई अनुमोदन गराई उक्त बजेट सार्वजनिक गरिएको हो।

चालु आर्थिक वर्ष २०७४/७५ का लागि तलबभत्ता, प्रशासनिक र कार्यक्रम गरी प्राप्त भएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ।

करिब ३५ लाख रूपैयाँको मात्रै कार्यक्रम बजेट रहेको महिला तथा बालबालिका अधिकृत विष्णुमाया पौडेलले बताइन्। उनका अनुसार घरभाडा र तलबभत्ता गरी ८१ लाख रूपैयाँ बजेट छ । विनियोजित बजेटमा अनुदान, अनुगमन, संचार खर्च समेत रहेको जानकारी दिँदै उनले कार्यक्रम सञ्चालनको लागि बजेट निकै कम रहेको र कार्यक्रम सञ्चालन गर्न नपुग्ने बताइन्। वर्षभर सञ्चालन गरिने आठ वटा दिवस मनाउन हरेक दिवसको १०/१० हजारका दरले ८० हजार बजेट आएको छ।

गरिबीविरुद्ध महिला अभियानअन्तर्गत हरेक वडामा सहकारी संस्था स्थापना गरिने उनले बताइन्। महिला बालबालिका कार्यालयअन्तर्गत १९ जना कर्मचारी र ११ जना परिचालिका छन्। तर प्रमुखसहित एक निरीक्षक र कार्यालय सहयोगी गरि चार जनामात्रै कार्यालयमा रहेको र सवैलाई स्थानीय तहमा खटाइसकेको प्रमुख पौडेलले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रमको कार्यान्वयन पनि सबै स्थानीय तहबाट हुनेछ।

जिल्ला मूल प्रवाहीकरण समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारी लगायत सहभागी थिए।

- अादर्श समाज सम्वाददाता