३२ जिल्लामा उम्मेदवारी मनोनयन

बाम-लोकतान्त्रिक गठबन्धन बीच प्रतिस्पर्धा

काठमाडौं, ५ कात्तिक। आगमी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि आइताबार उम्मेदवारी मनोनयन दर्ता भएको छ।

पहिलो चरणमा हिमाली तथा पहाडी गरेर ३२ जिल्लामा निर्वाचन हुँदैछ। उम्मेदवारी मनोनयन बिहान १० बजेबाट शुरु भई साँझ ५ बजेसम्म जारी रहेको थियो। अधिकांश उम्मेदवार बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए। प्रतिनिधिसभा निर्वाचनका लागि ३७ सिट र प्रदेश सभातर्फ ७४ वटा सिटका लागि मंसिर १० गते पहिलो चरणको चुनाव हुँदैछ। दोस्रो चरणका लागि मंसिर २१ गते निर्वाचन हुँदैछ।

पहिलो चरणको निर्वाचना नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेर मनोनयन दर्ता गराएका छन्। त्यस्तै नेपाली काँग्रेसले अधिकांश स्थानमा एक्लै र केही निर्वाचन क्षेत्रमा राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिलगायतसँग चुनावी तालमेल गरेको छ। देशभर शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता सकिएको निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणको निर्वाचनमा केही हाइप्रोफाइलका नेताहरुपनि चुनावी प्रतिस्पर्धामा देखिएका छन्। कतिपय क्षेत्रमा चर्चित नेताहरुवीच नै प्रतिस्पर्धा हुने देखिएकाले चुनावी रोचकता बढ्ने देखिएको छ। ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई पहिलो पटक चुनाव लड्दै छन्। उनी पछिल्ला दुर्इ संविधान सभा निर्वाचनमा काठमाडौं-६ बाट पराजित भएका थिए।

२०४८ सालको पहिलो बहुदलीय चुनावपछि दुर्इ क्षेत्र रहेको ताप्लेजुङमा काँग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा हुने गर्छ। यो जिल्लामा प्रायः काँग्रेस र एमालेले एक/एक सिट बाँड्ने गरेका थिए। पछिल्लो संविधान सभामा भने दुबै सिट एमालेले जितेको थियो। यसपालि ताप्लेजुङमा एउटा मात्र निर्वाचन क्षेत्र कायम गरिएको छ। एमाले-माओवादीका संयुक्त उम्मेदवार भट्टराईविरुद्ध काँग्रेसले केशव दाहाललाई उठाएको छ। हिमाली जिल्ला सोलुखुम्बुमा एमालेले माओवादीलाई छोडेको छ। त्यहाँ माओवादीका भीमकुमार राई काँग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्।

२०४८ सालदेखि नै सोलुखुम्बुबाट निवार्चित हुँदै आएका केसी २०६४ सालमा भने माओवादी उम्मेदवारसँग पराजित भएका थिए। यसपालि २ निर्वाचन क्षेत्रमा झरेको सिन्धुपाल्चोक पनि चुनावी प्रतिष्पर्धा रोचक हुने भएको छ। सिन्धुपाल्चोकमा वाम गठवन्धनबाट उम्मेदवार चयन गर्न एमाले र माओवादीलाई अप्ठेरो परेको थियो। शुक्रबार एमालेले सिन्धुपाल्चोक-१ बाट उम्मेदवार उठाउने र सिन्धुपाल्चोक-२ मा माओवादी नेता अग्नि सापकोटा उठ्ने सहमति भएको थियो। त्यसो हुँदा क्षेत्र नम्बर १ मा एमाले नेता अरुण नेपाल उठ्ने सम्भावना थियो। तर, एमालेभित्र ठूलो विरोध भएपछि एमालेले निवर्तमान सांसद शेरबहादुर तामाङलाई क्षेत्र नम्बर २ बाट उठाउने र माओवादीका सापकोटा क्षेत्र नम्बर १ बाट उठ्ने गरी शनिवार राति टुंगिएको हो।

सिन्धुपाल्चोक १ मा अब एक बहालवाला र एक पूर्वसञ्चारमन्त्रीबीच चुनावी भिडन्त हुने भएको छ। सिन्धुपाल्चोक-१ मा काँग्रेसबाट सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत उठेका छन्। सिन्धुपाल्चोक-२ को चुनावी प्रतिष्पर्धा यसपालन झनै रोचक हुने देखिन्छ। पछिल्लो संविधान सभाको निर्वाचन क्षेत्र नम्बर ३ का धेरै भाग समेटिएको यो क्षेत्रबाट एमालेका तामाङ र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाबीच प्रतिष्पर्धा हुँदैछ।

सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र काँग्रेसबीच चुनावी तालमेल भएको छ। सिन्धुपाल्चोक-१ मा राप्रपाले काँग्रेसका बस्नेतलाई सघाउने छ भने २ मा काँग्रेसले राणालाई सघाउने छ। परम्परागत रूपका काँग्रेस बलियो रहेको नुवाकोटमा पनि यसपाला वाम गठबन्धनका कारण चुनाव प्रतिष्पर्धात्मक हुने भएको छ। नुवाकोट-१ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर रामशरण महतविरुद्ध एमाले-माओवादीका संयुक्त उम्मेदवारका रुपमा माओवादी नेता हितबहादुर तामाङ चुनाव लड्दै छन्।

नुवाकोट-२ मा कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीविरुद्ध वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडा उम्मेदवार बनेका छन्।

लमजुङमा पनि यसपालि एउटा मात्र निर्वाचन क्षेत्र कायम भएको छ। त्यहाँ एमालेले माओवादीलाई छोडिदिएको छ। लमजुङमा माओवादी नेता देव गुरुङ र काँग्रेसका पूर्वसहायक महामन्त्री दिलबहादुर र्घर्ती चुनावी मैदानमा उत्रिएका छन्।

पछिल्ला दुबै संविधान सभामा माओवादीको बलियो उपस्थिति रहेको गोरखाको चुनाव यसपाला वाम गठबन्धनविरुद्ध काँग्रेस र नयाँशक्तिले चुनावी तालमेल गरेपछि प्रतिष्पर्धात्मक बनेको छ। गोरखा-२ मा काँग्रेसले नयाँशक्तिका बाबुराम भट्टराईलाई छोडिदिएको छ भने गोरखा-१ मा नयाँ शक्तिले काँग्रेसलाई सघाउने सहमति भएको छ। गोरखा-१ बाट काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ चुनाव लड्दै छन्।

गोरखा-२ मा बाबुरामविरूद्ध वाम गठवन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्।  श्रेष्ठ र भट्टराई दुबैले सो क्षेत्रमा आफ्नो दाबी नछोडेपछि बाबुराम वाम गठवन्धन छोडेर काँग्रेससँग चुनावी तालमेल गर्न आएका थिए। काँग्रेस र नयाँशक्ति एकातिर र  एमाले र माओवादी अर्कातिर हुँदा यो क्षेत्रमा भट्टराई र श्रेष्ठबीच तीव्र प्रतिष्पर्धा हुने भएको छ। पहिलो चरणको चुनावमा माओवादीका दुर्इ चर्चित नेताहरू वर्षमान पुन र जनार्दन शर्मा  पनि चुनाव लड्दै छन्। पुनको क्षेत्र रोल्पा र  शर्माको पश्चिम रूकुममा अरू पार्टीहरूको उपस्थिति कमजोर रहेकाले यी क्षेत्रमा खासै प्रतिष्पर्धा नहुने देखिन्छ।

बागीको चुनौती

गठवन्धनमा आफ्नो भागमा परेको रामेछापमा माओवादी केन्द्रले टिकट वितरण मिलाउन नसक्दा समस्या परेको छ। विनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठ गठवन्धनको आधिकारिक उम्मेदवार भएपनि असन्तुष्ट माओवादी नेताहरुले वागी उम्मेदवारी दिएका छन्। श्रेष्ठ विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दिएकी छिन्। त्यस्तै प्रदेशसभातर्फ (क) मा माओवादीका हेन्त पौडेल वागी भएका छन्। सो क्षत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा उम्मेदवार बनेकी थिइन्। त्यस्तै (ख) मा माओवादी नेता मैनकुमार मोक्तानले वागी उम्मेदवारी दिएका छन्।

मनाङबाट प्रदेश सभाका लागि एमालेबाट सिफारिस भएका डन दीपक मनाङेले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। जिल्लाबाट सर्वसम्मत रुपमा सिफारिस भएका मनाङेले अन्तिम समयमा टिकट नपाएपछि बागी उम्मेदवारी दिएका छन्। उक्त निर्वाचन क्षेत्रमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ। उनी पनि मनाङेसँगै राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन्।

मंसिर १० को चुनावमा रसुवा र गोरखामा काँग्रेस तथा नयाँ शक्तिले चुनावी तालमेल गरेका छन्। काँग्रेसले गोरखा दुर्इ र रसुवामा नयाँ शक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो। तर, कांग्रेसले रसुवामा प्रतिनिधिसभातर्फ मोहप्रसाद आचार्यलाई उम्मेदवार बनाएर समझदारी तोडेको छ। काँग्रेसले प्रदेशसभातर्फ रसुवाको (ख) निर्वाचन क्षेत्रमा मात्रै नयाँ शक्तिलाई सघाउने निर्णय गरेको हो। सोलुखुम्बुमा अन्तिम समयमा आएर एमालेले उम्मेदवार परिवर्तन गरेको छ। एमालेका जिल्ला अध्यक्ष मानवीर राइले अन्तिम समयमा आएर प्रदेशसभातर्फ उम्मेदवार बन्न अस्वीकार गरेपछि एमालेले प्रदेशसभाका लागि उम्मेदवार हेरफेर गरेको हो।

राई प्रतिनिधि सभाका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका थिए। तर, सोलुखुम्बुको प्रतिनिधिसभातर्फको सिट माओवादीको भागमा परेपछि उनलाई प्रदेशतर्फ पठाइएको थियो। राइले उम्मेदवारी दर्ता नगराएपछि एमालेले उत्तम बस्नेतालाई अन्तिम समयमा टिकट दिएको छ। बस्नेत नयाँ शक्तिबाट एमालेमा गएका हुन्। हुम्लाको प्रदेश सभा क मा चाहिँ एमालेले उम्मेदवारी दिएको छ। हुम्लाको प्रतिनिधि सभा र प्रदेशसभा दुबैतर्फको सिट माओवादीलाई दिने सहमति भएको थियो। र प्रदेशसभातर्फ एमालेले उम्मेदवारी दर्ता गराएको छ। जाजरकोटको प्रदेश सभा निर्वाचन क्षेत्र -क) मा एमालेले माओवादीलाई सिट दिएपछि हुम्लामा एमालेले पाएको हो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि यी दुर्इ नेताले गोरखा २ बाट उम्मेदवारी दिएका हुन्। बाम गठबन्धनमा गएका भट्टराईले गोरखा २ निर्वाचन क्षेत्र नपाएपछि गठबन्धन नै छोडेका हुन्। भट्टराई नेपाली काँग्रेसको सर्मर्थनमा चुनावी मैदानमा छन्। श्रेष्ठ चाहिँ वाम गठबन्धनबाट उम्मेदवार बन्दै छन्। वाम एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र मनोनयनका लागि एकै व्यानरमा जिल्ला निर्वाचन कार्यलयमा पुगेका थिए। ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

- अादर्श समाज सम्वाददाता