माओवादी मन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

कमल थापालाई उर्जा, माओवादी सरकारबाट नहट्ने

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदारी माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउँदै राप्रपाका चार मन्त्रीहरुलाई नयाँ जिम्मेवारी तोकेका छन् । माओवादीले सरकारबाट नहट्ने निर्णय गरेलगतै मंगलबार प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई बिनाविभागीय बनाउँदै राप्रपाबाट मन्त्री बनेकालाई जिम्मेवारी बाँडफाट गरेका हुन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि माओवादी मन्त्रीको जिम्ममा रहेका गृह, परराष्ट्र लगायत मन्त्रालय भने प्रधानमन्त्रीले आफैंसँंग राखेका छन् ।

मंगलबार अपरान्ह माओवादीका मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर राप्रपाका नयाँ मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो । शनिबार शपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्र्ति मन्त्रालय र विक्रम थापाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

त्यसअघि मंगलबार बिहान सरकारबाट बाहिरिने निर्णयमा पुगेको नेकपा माओवादी केन्द्रले दिउँसो भने तत्काल सरकार नछाड्ने बताएको थियो । सरकार छाड्ने तयारी स्वरुप पत्रकार सम्मेलन गरेका गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्न खोजेको सूचना आएकोले आफ्नो पार्टी तत्काल सरकारबाट नहट्ने घोषणा गरेका हुन् ।गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले सरकार छाड्ने घोषणा गर्न बनाइएको पत्रको ड्राफ्ट समेत देखाएका थिए । उनले सञ्चारकर्मीलाई पत्र देखाउँदै भने-‘निर्वाचन सार्न अहिले प्रपञ्च भइरहेको भन्ने सूचना आइरहेको कारणले तत्काललार्य सरकार छाड्ने कुरा स्थगित भएको छ ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारबाट फिर्ता हुने भनेर हस्ताक्षर गर्नैलाग्दा निर्वाचन सारिँदैछ भन्ने सूचना निर्वाचन आयोगमार्फत् आएपछि सरकार नछाड्ने निर्णय स्थगित भएको उनले बताए ।

कुनै हालतमा निर्वाचन गर्नैपर्ने भन्दै उनले भने-‘निर्वाचन सार्ने गरी कुनै निर्णय हुँदैछन् भन्ने सूचना आएपछि यदि त्यसो हो भने सरकारबाट हट्नु हुँदैन ।’ यद्यपि सरकारमा बस्ने र मन्त्री पद ओगटिरहने लोभ आफूहरुलाई नभएको शर्माले बताए । उनले भने-‘सरकारमा बस्न लोभि छैनौं । मन्त्रीको लोभले सरकार नछाड्ने भनेको होइन ।’

मंगलबार बिहानमात्र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दा माओवादीबाट मन्त्री भएकाहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए ।

लगत्तै माओवादी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारीमा जुटेको थियो । तर, संसद् पनि नभएको र सरकार पनि छाड्दा प्रधानमन्त्रीले चुनाव सार्न सक्ने नेताहरुको आशंका छ । माओवादीका एक नेताले भने- ‘कम्तिमा कात्तिक ५ गतेसम्म हामीले सरकार छाड्नु हुँदैन ।’

बिहानसम्म सरकारबाट बाहिरिने अनौपचारिक निर्णय माओवादीले गरेको थियो र त्यसै अनुसार पार्टीका तर्फबाट सरकारमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा लगायतका मन्त्रीहरुले सचिवालयमा रहेका व्यक्तिगत सामग्री एक ठाउँमा जम्मा गर्न थालेका थिए । तर दिउँसो एकाएक गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले निर्वाचन सार्न लागेको गोप्य सूचना पाएको कारण त्यसलाई रोक्न सरकारबाट नबाहिरिने निर्णय अकस्मानत लिनुपरेको जानकारी दिए । सरकारबाट बाहिरिन लेखेको चिठ्ठी देखाउँदै शर्माले उक्त सूचनापछि निर्णयबाट पछि हटेको दावी गरे ।

सत्ताधारी दल माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेल र पार्टी एकताका लागि गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा ल्याएका थिए ।

- अादर्श समाज सम्वाददाता