सृजना विकास केन्द्रको साधारणसभामा सम्मान

पोखरा, ३१ असोज। सृजना विकास केन्द्रले संस्थाको ४० औं साधारणसभा अवसरमा कर्मचारीलाई सम्मान गरेको छ ।

केन्द्रीय कार्यालय सिमलचौर र शाखा कार्यालयमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने सवोर्त्कृष्ट कर्मचारी केशवप्रसाद ढकाल, प्रतिमा गुरुङ र आरती रानालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो ।

यस्तै, केन्द्रको विभिन्न शाखामा पाँच वर्षभन्दा बढी कार्यरत २० जना कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित गरियो ।

प्रमरख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले साधारणसभा उद्घाटन गर्दै केन्द्र महानगरकै उत्कृष्ट सामाजिक संस्था रहेको बताए।

सामाजिक रुपान्तरणका लागि केन्द्रले उल्लेखनीय योगदान गर्न सक्ने जिसीको कथन थियो। समाज रुपान्तरण गर्ने कार्यक्रममा महानगरपालिकाले केन्द्रसँंग सहकार्य गर्ने जिसीले बताए ।

पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखराको विकासमा सामाजिक संघसंस्थाले ठूलो भूमिका खेल्न सक्ने औंल्याए। यहाँको समग्र विकासमा राजनीति बाधक बन्न नहुने श्रेष्ठको कथन थियो।

राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चलकी प्रमुख नीतु गतौर्लाले केन्द्र्रका कार्यक्रमले महिला सशक्तिकरणमा सहयोग पुगेको औंल्याइन्।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले केन्द्रले प्राप्त गरेको उचाइ कायम राख्न सुझाव दिए ।

कार्यक्रममा इन्सेक पोखराका संयोजक शिवप्रसाद खकुरेल, नागरिक समाजका विष्णुप्रसाद बराल, जनप्रिय बहुमुखी क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष इन्द्र कुँवर, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पवित्रा केसी र सम्मानित कर्मचारी लक्ष्मी सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए।

साधारणसभामा केन्द्रका महासचिव मीनराज भट्टराईले २०७३/०७४ को प्रगति प्रतिवेदन तथा ०७४/०७५ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष इन्द्र पौडेललले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्ण थापाले स्वागत मन्तव्य र महासचिव मीनप्रसाद भट्टराईले सञ्चालन गरेका थिए।

‘सृजनाको परिकल्पना, समुन्नत समाजको स्थापना’ मूलमन्त्रसहित २०३७ मा स्थापना भएको संस्थाको केन्द्रीय कार्यालय र १९ शाखा कार्यालय सञ्चालनमा छन्।

सृजना लघुवित्त बैकिङ कार्यक्रमअन्तर्गत एक हजार सात सय आठ केन्द्रमार्फत आठ हजार दुर्इ सय ३४ समूहमा आबद्ध २९ हजार एक सय २३ महिलाबीच ८९ करोड कर्जा लगानी गरेर उनीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ।

केन्द्रले विशेष कार्यक्रमअन्तर्गत २०४४ सालदेखि सृजना बहिरा विद्यालय, २०५८ देखि बहिरा मावि सञ्चालन गर्दैआएको छ। केन्द्रको नेतृत्व र स्थानीय समुदायको सक्रियतामा २०५८ देखि जनप्रिय बहुमुखी क्याम्पस सञ्चालनमा छ।

- अादर्श समाज सम्वाददाता