सेभेन ए साइड फुटबल शुरु

खैरेनीटार, २८ असोज। खैरेनी युवा क्लबको आयोजनामा सरस्वती नमूना माध्यमिक विद्यालय परिसरमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ।

खैरेनीटार बजार इकाइको प्रबर्द्धनमा भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेलचौतारा युवा क्लब विजयी भयो । उसले खैरेनी युवा क्लब बीलाई २-० अन्तरमा हराएको हो । खेलमा बेलचौतारा युवा क्लबका सुजन रसाईली म्यान अफ दि म्याच भए।

नव युनाइटेड एफसी बी र शीलादेवी युवा क्लबबीचको प्रतियोगितामा नव युनाइटेड ३-२ गोलअन्तरले विजयी भयो । खेलमा युनाइटेडका वीरेन्द्र रानाभाट म्यान अफ दि म्याच घोषित भए।

यसअघि खेल उद्घाटन गर्दै प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलले खेलले मानिसलाई अनुशासित तथा स्वास्थ्य बनाउन मद्दत गर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापाले खेल स्वास्थ्यको लागि अपरिहार्य भएको बताए।

कार्यक्रममा खैरेनीटार बजार इकाइका सभापति अर्जुनकुमार श्रेष्ठ, खैरेनी युवा क्लबका पूर्व अध्यक्ष रामलाल हिराचन, सरस्वती नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार तिम्सिना लगायतले बोलेका थिए।

प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै, उत्कृष्ट टिमलाई तीन हजार, अनुशासित समूहलाई पाँच हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई जनही तीन हजार रुपैयाँसहित प्रमाणपत्र दिइनेछ ।

कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ।

क्लबका अध्यक्ष सुजित हिराचनको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव सुजन श्रेष्ठले गरेका थिए।

- अादर्श समाज सम्वाददाता