प्रथम बालासिंह स्मृति बास्केटबल कप शुरु

पोखरा, २८ असोज। नेपाल तरुण दल मादी गाउँपालिका वडा नं २ इकाइ समितिले आयोजना गरेको प्रथम बालासिंह स्मृति बास्केटबल कप-२०७४ शनिबारदेखि शुरु भएको छ।

मादी गाउँपालिका वडा नं २ का समाजसेवी राजनीतिकर्मी, चलचित्रकर्मी स्व बालासिंह गुरुङ -बाउठु)ले समाजमा पुर्‍याएको योगदान स्मरण गर्दै प्रतियोगिता आयोजना गरिएको हो।

पोखरा १३ स्थित सत्य युवा क्लब भद्रकालीको बास्केटबल खेल मैदानमा आयोजित प्रतियोगिता सोमबारसम्म चल्ने छन्।

प्रतियोगितमा २२ समूहले सहभागिता जनाएका छन्।

प्रतियोगिता विजेतालाई ३० हजार, उपविजेतालाई १८ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

उत्कृष्ट, सर्वाेत्कृष्ट र हाइस्कोरर खेलाडीलाई पनि विशेेष पुरस्कार व्यवस्था गरिने छ। प्रतियोगिता सम्पन्न गर्न एक लाख ८० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको छ ।

तरुण दल इकाइले स्व. बालासिंहको स्मृतिमा अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट वर्षेनी बास्केटबल कप सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगिता उद्घाटन गर्दै समाजसेवी हर्कध्वज गुरुङले हरेक नागरिकले राजनीति बुझ्न जरुरी भएको बताए। उनले बालासिंह स्मृति अक्षयकोषका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देल, ओमप्रकाश गुरुङ, विद्यार्थी नेता समित केसी लगायतले बोलेका थिए।

नेपाल तरुण दल मादी गाउँपालिका वडा नं २ इकाइ सभापति लिल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं २ का सचिव सन्तोष गुरुङले स्वागत र तरुण दल सदस्य विन गुरुङले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता