क्रान्तिकारी माओवादी सम्मेलन शुरु

क्रान्तिकारी कार्यदिशा बनाउँछौं: नेता वैद्य

पोखरा, २२ असोज। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को प्रथम सम्मेलन पोखरामा शुरु भएको छ।

लामो प्रतिक्षापछि हुन गई रहेको राष्ट्रिय सम्मेलनमा पार्टीका नेतृत्व एवम् कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षकको उत्साहजनक सहभागिता रहेको छ। असोजको २५ गतेसम्म चल्ने अधिवेशनको आइतवार पार्टीका  नेता मोहन वैद्य ‘किरण’ले उद्घाटन गरेका हुन्।

वैद्यले उद्घाटन शत्रमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट घटकहरूका लागि सम्मेलन महान् अवसर हुने बताए। उनले सम्मेलनमार्फत् नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको कार्यदिशा तयार पारिने उद्घोष गरे। उनले भने-‘कम्युनिष्टको क्रान्तिकारी कार्यदिशा तयार पार्ने कार्यमा सम्मेलनको मूल उद्देश्य केन्द्रित हुनेछ।’

पार्टीका अध्यक्षसमेत रहेका वैद्यले विगतमा गरिएका क्रान्तिले पटक-पटक धोखा खाएको उल्लेख गरे। उनले महान सहिदले बगाएको रगत र पसिना, बेपत्ता, घाइते अपाङ्ग योद्धाले देखेका सपनालाई दखल पार्ने प्रयास भएको आरोप लगाए। उनले चालु राष्ट्रिय सम्मेलनले आफूहरूको मूल मर्म मरेको छैन भन्ने सन्देश दिने बताए।

उनले सम्मेलनमार्फत् कार्यदिशालाई परिमार्जन गर्ने दावी गरे। क्रान्तिकारी मूल मर्म, आदर्श र सपनालाई ध्वस्त पार्ने षडयन्त्र विरुद्ध कार्यदिशा बनाउने जिकिर गरे। ‘फेरि, नेपालमा क्रान्तिको ज्योति बाल्छौं’-वैद्यले भने-‘सर्वहाराको नेतृत्वमा जनताको राज्यसत्ता कायम गरेरै छाड्छौं।’

वैद्यले क्रान्तिकारी कम्युनिष्टहरू एक ठाउँमा अटाउन नसकेको गुनासो गरे। उनले सम्मेलनले क्रान्तिकारी कम्युनिष्टबीचको एकताको एजेण्डा बनाउने बताए। सच्चा क्रान्तिकारी कम्युनिष्टहरूको एकताका लागि अब ढिला गर्न नहुने जिकिर गरे। ‘क्रान्तिकारी कम्युनिष्टबीचको एकताको वहसलाई अघि बढाउनुपर्छ’-उनले भने, ‘आ-आफ्नो ठाउँबाट कम्युनिष्ट एकताका लागि सक्दो पहल र मिहेनत गरौं।’

नेता वैद्यले हालैमात्र एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीचको एकतालाई अपवित्र साँठगाँठको संज्ञा दिए। सत्तामा बस्नका लागि मात्र साँठगाँठ भएको वैद्यको जिकिर थियो।

विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीस्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले सम्मेलनको सफलताको शुभकामना दिँदैं सच्चा क्रान्तिकारी कम्युनिष्टहरूले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको साँठगाँठप्रति सर्तर्क रहनुपर्ने औंल्याए। उनले कपोर्रेशनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको घाँटी जोडिदिएको जिकिर गरे।

वलीले राज्यसत्ता भन्दामाथि कपोर्रेशनहरू रहेको दावी गरे। कपोर्रेशनहरूले मजदुर र किसानका नेतालाई खरिद गरेर कम्युनिष्ट आन्दोलनलाई नै दिग्भ्रमित पार्ने आरोप लगाए। ‘सच्चा क्रान्तिकारी कम्युनिष्टको एकताको विकल्प छैन’-उनले भने-‘मार्क्सवादी, लेनिनवादी र माओवादी विचार मान्नेहरूले त्यसको पहल थाल्नुपर्छ।’

नेपाल कम्युनिष्ट पार्टीका नेता ऋषि कट्टेलले कम्युनिष्ट आन्दोलनले किसानको क्रान्तिलाई अघि बढाउन जोड दिए। कट्टेलले किसान र मजदुरको एकतामा आधारित वर्ग संर्घष्ा चलाउन आग्रह गरे। ‘नेपाली कम्युनिष्ट आन्दोलनले वैचारिक धार निर्माण गर्न सक्नुपर्छ’-उनले भने-‘त्यो वैचारिक धार संयुक्त जनक्रान्तिको लागि हुनुपर्छ। संयुक्त जनक्रान्ति भनेको उत्पीडित वर्ग र समुदायबीचको एकतामा आधारित संयुक्त क्रान्तिकारी वर्ग संर्घष्ा हुनुपर्छ।’

नेकपा मसालका केन्द्रीय सदस्य रामप्रसाद पुरीले क्रान्तिकारी शक्तिबीचको कार्यदिशा बन्नुपर्ने औंल्याए। सच्चा कम्युनिष्टको क्रान्तिकारी एकतामा अब ढिलाई गर्न नहुने उनको तर्क थियो। स्वतन्त्र बाम बुद्धिजीवी तथा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मुलुकको नीति र नेतृत्व निर्माण गर्नका लागि सम्मेलन कोशेढुङ्गो बन्ने विश्वास दिलाए। ‘हालसम्म देशमा मानवहरूले मानव भएर बाँच्न पाउने अधिकार पाएका छैनन्,’ बरालले भने, ‘क्रान्तिकारी कम्युनिष्टको यस सम्मेलनमार्फत उनीहरूले आफ्नो नीति र नेतृत्व पाउनेछन्।’

नेपाल कम्युनिष्ट पार्टी-क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्य ‘किरण’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय सदस्य रामसिंह श्रीश ‘राजवीर’ को स्वागत मन्तव्य र नेता सीपी गजुरेलले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्मेलनमा ७७ जिल्लाबाट चारसय पर्यवेक्षक तथा प्रतिनिधि, पार्टीका ९१ जना केन्द्रीय सदस्य र ८२ जना केन्द्रीय सल्लाहकार सदस्यमध्ये ६० प्रतिशत सल्लाहकार सदस्यको सहभागिता रहेको छ। सम्मेलनले नयाँ केन्द्रीय समितिको गठन, केही दिन अघि मात्रै पार्टीको ‘केन्द्रीय समितिको बैठकले पारित गरेको दस्तावेज एवम् विधानमाथि छलफल र उक्त दस्तावेज तथा विधानलाई पारित गर्ने बताइएको छ।

- अादर्श समाज सम्वाददाता