टिकट लिन नेताको राजधानी दौड

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ। सबैजसो दलले जिल्लाबाट सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिस पठाइसकेका छन्। जिल्लाबाट नाम सिफारिस भएपछि उम्मेदवारका आकाङ्क्षी अहिले केन्द्रीय नेतृत्वसँगको भेटघाटमा व्यस्त छन्। सबैजसो नेता यतिबेला राजधानीमै छन्।

नौ जना प्रत्यक्षतर्फका उम्मेदवार छान्न काँग्रेस कास्कीबाट झण्डै सयको हाराहारीमा नाम सिफारिस भएको छ। प्रत्यक्षतर्फ केन्द्रका लागि २१ र प्रदेशका लागि ६२ गरी ८३ जनाको नाम पठाइएको हो।

समानुपातिकमा केन्द्रतर्फ १९ जना र प्रदेशमा ५५ गरी ७४ जनाको नाम सिफारिस गरिएको काँग्रेस कास्कीले जनाएको छ। उम्मेदवारीका लागि दर्ता गरिएका सबै नाम काँग्रेस कास्कीका सभापति कृष्ण केसी मंगलवार नै केन्द्रीय कमिटीलाई बुझाएका छन्। केही बाहेक सिफारिसमा परेका अधिकांश नेता अहिले काठमाडौं केन्द्रित छन्। नेतृत्वलाई खुसी पार्ने र आफ्नो पक्षमा टिकट हत्याउने प्रयासमा नेता दिनरात लागिरहेका छन्।

कास्कीका ३ मध्ये क्षेत्र नम्बर १ काँग्रेसका लागि तुलनात्मक रूपमा सहज क्षेत्र हो। यो क्षेत्रमा कानूनमन्त्री तथा सांसद यज्ञबहादुर थापा र पूर्व कानुनमन्त्री तथा सभामुख तारानाथ रानाभाट बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्। धेरैको नाम सिफारिस भएपनि प्रतिनिधि सभाको सांसदका लागि यी दुर्इमध्ये एकले टिकट पाउने अनुमान छ।

यो क्षेत्रमा एमालेले सल्लाहकार परिषद्का केन्द्रीय उपाध्यक्ष खगराज अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाइसकेको छ भने माओवादीबाट पूर्व मन्त्री देव गुरुङ सर्वसम्म सिफारिस भएका छन्। नयाँ शक्तिले कणेल मदन केसीलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ।

२ र ३ नम्बर क्षेत्र काँग्रेस भन्दा एमाले बलियो देखिन्छ। काँग्रेसबाट सोभियतबहादुर अधिकारी र देवराज चालिसेमध्ये कुनै एकले टिकट पाउन सक्छन्। यद्यपि कास्कीलाई केन्द्रीय नेतृत्वले कसको पक्षमा पार्न सक्छ त्यसमा पनि भर पर्छ। अधिकारी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासिलो पात्र हुन् भने चालिसेलाई रामचन्द्र पक्षले बढी रुचाउँछ। एमाले, माओवादी र नयाँ शक्तिले यो क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन्। एमालेबाट संसद विकास समितिका सभापति रवीन्द्र अधिकारी, माओवादीबाट कास्की इञ्चार्ज राजकाजी गुरुङ र नयाँ शक्तिले जिल्ला संयोजक हेमबहादुर थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ।

क्षेत्र नम्बर ३ यसपाला बढी रोचक हुने देखिएको छ। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै उम्मेदवार बन्ने संकेत माओवादी स्रोतबाटै बुझिएको छ। यद्यपि यसअघि उनी चितवन ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। काँग्रेसले शुक्रराज शर्मा वा महादेव गुरुङमध्ये एकलाई टिकट दिने बुझिएको छ। यसमा पनि गुटगत राजनीति हावी हुन सक्छ। एमालेबाट जगत् विश्वकर्मा वा जगन्नाथ बास्तोलामध्ये कोही एक उम्मेदवार हुन सक्छन्। माओवादीले यो क्षेत्रबाट ३ जनाको नाम सिफारिस गरेको छ। तर रामजी बराललाई बढी सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ।

प्रदेशतर्फ एमाले र काँग्रेसको उस्तैउस्तै नतिजा आउन सक्छ। क्षेत्र नम्बर १ का दुर्इवटै क्षेत्र काँग्रेसलाई बढी सम्भावना भएको क्षेत्र हो। यस्तै, क्षेत्र नम्बर २ को (ख) पनि काँग्रेसलाई राम्रै मानिन्छ। बाँकी क्षेत्र एमाले हावी हुने सम्भावना छ। तर उम्मेदवारको ब्यक्तित्वले पनि चुनावमा असर गर्छ। क्षेत्र नम्बर १ को (क) मा काँग्रेसबाट सुदीपमोहन भट्टराई, कोपिला रानाभाट र राजेन्द्रमणि लामिछानेलाई मुख्य दावेदारको रूपमा हेरिएका छन्।

एमालेबाट टिकाराम पंगेनी वा दिलिप न्यौपानेमध्ये एक उम्मेदवार हुनेछन्। माओवादीबाट झलकपाणि तिवारी बलिया दावेदार हुन्। प्रदेश सभाकै लागि (ख) बाट काँग्रेसका लागि जिल्ला सभापति कृष्ण केसी प्रमुख दावेदार हुन् भने एमालेबाट जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङलाई टिकट दिन सक्ने बुझिएको छ। माओवादीले पार्टीअध्यक्ष दीपक कोइराला वा विश्वप्रकाश लामिछानेमध्ये एकलाई टिकट दिन सक्छ।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र (क) मा विजयराज आचार्य वा केशरप्रसाद निदोर्षीलाई सम्भावनाको रूपमा हेरिएको छ। एमालेबाट पार्टीअध्यक्ष कृष्ण थापा आँफै यस क्षेत्रको उम्मेदवार बन्न सक्छन्। जिताउने गरी उम्मेदवार बनाउनकै लागि उनलाई (क) बाट (ख) मा ल्याइएको बुझिन्छ। उनी महानगरको मेयरमा पनि सिफारिसमा परेका थिए।  माओवादीबाट गंगा पोख्रेल सर्वसम्मत उम्मेदवार सिफारिस भैसकेका छन्। -ख) मा नरेशशंकर पालिखे र विन्दुकुमार थापामध्ये एकलाई टिकटको दावेदार मानिएको छ। दुबैजना महानगरको मेयरका लागि सिफारिसमा परेका ब्यक्ति हुन्। पार्टीकेन्द्रीय कमिटीले अन्तिम समयमा पालिखेको टिकट खोसेको गुनासो बढी छ। स्थानीय तहको चुनावमा पार्टीकाई असहयोग गरेको आरोप पनि उनीमाथी छ। उनलाई कारबाहीका लागि अनुशासन विभागमा उजुरी समेत दर्ता भएको काँग्रेस स्रोत बताउँछ। यो क्षेत्रमा काँग्रेसबाट क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, वीरेन्द्रनारायण विजुक्छे र सुनयना पालिखेलाई पनि कमजोर आँक्न नमिल्ने काँग्रेसीहरू बताउँछन्। एमालेले यहाँ प्रभा कोइरालालाई टिकट दिन सक्ने प्रवल सम्भावना छ भने माओवादीले रामप्रसाद पौडेललाई सर्वसम्मत बनाएको छ। यसअघि कोइराला उपमेयरको सिफारिसमा परेकी थिइन्। प्रदेश सभामा उम्मेदवार बनाउने सहमति गरेर उनलाई थमथमाएको एमाले श्रोत बताउँछ।

३ नम्बर क्षेत्रको प्रदेश (क) मा रामचन्द्र त्रिपाठी वा विष्णुबहादुर क्षेत्रीलाई काँग्रेसले उम्मेदवार बनाउन सक्छ । एमालेबाट दलबहादुर गुरुङ मुख्य दावेदार हुन्। शारीरिक समस्याका कारण लामो समयको उपचारपछि उनी पुनः राजनीतिमा छिर्ने दाउ खोजिरहेका छन्। माओवादीबाट सुमिता बस्नेत, तीर्थ लुइँटेल वा राजु तिमिल्सिनामध्ये एक उम्मेदवार हुन सक्छन्। ३ नम्बर क्षेत्रको प्रदेश (ख) तर्फ तरुण दल अध्यक्ष मनोज गुरुङ वा देवेन्द्रकुमार शेरचनलाई बढी सम्भावितका रूपमा हेरिएको छ। यद्यपि आइबहादुर गुरुङ र राजबहादुर गुरुङ पनि बलिया उम्मेदवार ठानिएका छन्। एमालेले युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी वा जिल्ला सचिव दामोदर वैरागीलाई उम्मेदवार बनाउन सक्नेछ। वैरागी यसअघिको स्थानीय चुनावमा वडा सदस्यमै पराजित भएका थिए। माओवादीबाट गोमा ढकाल वा भेषराज पौडेलको नाम बढी सम्भावनाको रूपमा देखाइएको छ। ढकाल महानगरको चुनावमा उपमेयरको उम्मेदवार बनेर पराजित भएकी थिइन्।

जिल्लाबाट उम्मेदवार सिफारिस भएपनि वाम र लोकतान्त्रिक गठबन्धनको अन्यौलताले बाँडफाँडसमेत खलबलिएको छ। गठबन्धन भएमा भागबण्डा हुँदा उम्मेदवार यताउता हुन सक्ने अधिक सम्भावना छ। तर नेताहरूको त्यसको वास्ता खासै गरेका छैनन्। उनीहरू आफ्नो पोल्टामा सिफारिस टुंग्याउन निकै जोडबल गरिरहेका छन्। सबै पार्टीहरू  असोज २७ अघि नै उम्मेदवारको टुंगो लगाउने तयारीमा जुटिरहेका छन्। कात्तिक ५ गते उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

- प्रकाश ढकाल