प्रथम उपाध्यक्षका प्रत्यासी को अगाडि ?

सर्न्दर्भ : लेउवा संघ निर्वाचन

अध्यक्षको आशीर्वादबाट पदाधिकारी मनोनित हुँदै आएको लेखनाथ उद्योग वाणिज्य संघका व्यवसायी नेता विधान संसोधनपछि प्रत्यक्ष मतदाताबाट चुनिएर आउने अवसर पाएका छन्। सदस्य पदमा चुनाव जिते पनि अध्यक्षको मन जित्न नसकेकाहरू र फरक विचार राख्नेहरू पदाधिकारी हुनबाट बञ्चित भएर विभिन्न समयमा विवादमा परेको लेखनाथ उद्योग वाणिज्य संघमा पद नपाएपछि राजिनामादेखि बोलचाल नै बन्द हुने गरेका घटना दोहोरिन्थे। तर विगतका इतिहास भन्दा अहिलेको संशोधित विधानले त्यो समस्यलाई समाधान गरिसकेकाले व्यवसायीलाई पद प्राप्तिमा सजिलो बनाएको छ। पदाधिकारका लागि पहिलो पटक हुन लागेको चुनावमा एउटै पदमा उठेका राम्रा व्यवसायी बाहिर निक्लदा संघलाई केही घाटा पुग्ने आशंका उब्जिएको छ। संघको असोज २८ गते हुने ११ औं महाधिवेशनको प्रथम उपाध्यक्ष पदका लागि दुर्इ जना उम्मेदवार चुनावी मैदानमा छन्। वर्तमान कार्यसमितिका महासचिव छत्रधर आत्रेय र विभिन्न समयमा सल्लाहकारदेखि कार्यसमितिको सदस्य पदमा रहेर काम गरेका मेजर रामप्रसाद गरुङबीच चुनावमा प्रतिश्पर्धा हुँदै छ। आत्रेय अध्यक्ष पदमा उम्मेदवार कृष्णहरि भण्डारीको समूहबाट अगाडि बढेका छन् भने गरुङ वसन्तमोहन भट्टराई समूहको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्ष पछिको तेस्रो शक्तिका रूपमा लिइएको प्रथम उपाध्यक्षका दुबै उम्मेदवारले आदर्श समाज सँगको भेटमा आफ्नो समूहले चुनाव जित्ने विचार व्यक्त गरेका छन्।

७० प्रतिशत मतले जित्छौं : आत्रेय

एकातिर व्यवसाय र अकोर्तिर विद्यार्थीलाई पढाउँदा पढाउँदै २०५८ सालदेखि लेखनाथ उद्योग वाणिज्य संघको साधारण सदस्य बनेका ४२ वर्षका छत्रधर आत्रेय आफ्ना करिव एक दर्जन जति व्यवसायलाई साथ दिँदै व्यवसायिक हकहितका सवालमा आवाज उठाउन संघमा प्रवेश गरेको बताउछन्। २०६८ सालमा आफ्नो एकल प्रयासले संघको कार्यसमितिमा छिरेका आत्रेय कोषाध्यक्ष र वर्तमान महासचिव हँुदै अहिले प्रथम उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

विगतका वर्षमा पनि अत्याधिक मतका साथ विजय भएको र यस पटक पनि खसेको करिव ७० प्रतिशत मतका साथ आफ्नो समावेसी टीम विजय हुने उनी दावा गर्दछन्। अर्थशास्त्र विषयमा उच्च शिक्षा हासिल गरेका आत्रेय आफ्नो अनुभवलाई संघमा प्रयोग गर्दै संघले राष्ट्रिय स्तरमा बनाएको उचाईलाई निरन्तरता दिँदै संघको गरिमा र व्यवसायिक एकतालाई आँच आउन नदिने गरि नयाँ कार्ययोजनाका साथ अगाडि वढ्ने विचार सुनाउछन्।

साना कृषि व्यवसाय, पशुपालन, पर्यटन विकास, व्यवसायी उद्यामशीलता र लेखनाथ उद्योग वाणिज्य संघको क्षेत्राधिकार भित्र अहिले मात्र परेको रूपा गाउँपालिका र मादी गाउँपालिकामा समेत व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने खालका प्रभावकारी योजनामा बजेटसहित पुग्ने आफ्नो चुनावी एजेण्डा भित्र परेको उनी बताउछन्।

व्यक्तिगत स्वार्थ भन्दापनि सस्थागत हितका सवालमा काम गर्दै सबै वर्ग, समुदाय र राजनीतिक परिदृष्यलाईसमेत समेटेर निर्माण भएको आफ्नो टिमले सबै पूर्व अध्यक्षको मनमुटावलाई एक ठाउँमा ल्याउन सकेकाले जित एक ठाउँमा छ भने सस्थागत हित आको पाटो भएकाले यसैलाई नै विजय ठान्न उनले सबैमा अनुरोध गरेका छन्।

अग्रगमनका लागि मैदानमा : गुरुङ

युवा अवस्थामा लाहुरे जीवन बिताउँदा बिताउँदै मेजर पदबाट पेन्सनमा आएका ६१ वर्षीय रामप्रसाद गुरुङ भारती सेनामा हुँदा अंगालेको अनुभवलाई नेपालमा आएर २०६३ सालदेखि व्यवसायतर्फ उन्मुख भएका हुन्।

जागिरे जीवनपछि सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आएका गुरुङ आफ्नो १० वर्षको व्यवसायिक अनुभवलाई संघमा प्रयोग गरी सम्पूर्ण व्यवसायीको हक हितका सवालमा आवाज उठाउने प्रतिबद्धता जनाउछन्। एक कार्यकाल सल्लाहकार र दुर्इ कार्यकाल कार्यसमितिको सदस्य हुँदै विभिन्न उपसमितिमा बसेर काम गर्दा पनि संस्थापन पक्षले उचित स्थान नदिएका कारण बाध्य भएर चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।

‘जहाँ समावेशी टिम भनिन्छ त्यहाँ महिलालाई स्थान छैन र राज्यले अंगीकार गरिसकेको जात जातिको सही ढंगले समावेश गरिदैँन त्यसैले हामी  यथास्थितिवादको अन्त्य र अग्रगमनको पक्षमा चुनावी मैदानमा आएका हौं’-गुरुङले भने।

अध्यक्षका प्रत्यासी उमेदवार वसन्तमोहन भट्टराईको समूहबाट प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ आफ्नो उम्मेदवारी साझा एजेण्डा, व्यवसायिक हक हित र समग्र लेखनाथ नगर क्षेत्रमा औद्योगिकरणको माध्यमबाट आर्थिक विकासका लागि भएको बताउछन्।

यहाँ भएका करिव तीन हजार अन्य व्यवसायीलाई समेट्न नसकिएकोमा  दुःख मनाउ गर्दै साना व्यवसायीदेखि व्यवसायिक कृषिलाई संघमा प्रवेश गराई उनीलाई उत्पादनशील क्षेत्रका सम्भावनाका बारेमा तालिम प्रशिक्षण र गोष्ठीको आयोजना गरी व्यवसायिक बनाउने र स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्नु आफ्नो चुनावी नारा भएको उनी सुनाउछन्। संस्थापकदेखि पूर्व अध्यक्ष, ठूला व्यवसायीदेखि साना व्यवसायीको साथ आफ्नो समूहमा भएकाले दावा गर्दै यहाँ विचारको जित हुने उनी बताउछन्।

‘व्यवसायी पनि सचेत छन् यहाँ नातावाद, कृपावाद, गुटवादले संघ चल्दैन जहाँ राम्रो भन्दा पनि हाम्रोको पक्षमा कोही हुँदैन त्यसैले लेखनाथको भविष्यका लागि १० वर्षीय कार्ययोजनालाई हामीले अगाडि सोरको छौ तिनै योजना अनुसार हामी चल्छै यसैमा नै हाम्रो जित हो’ गुरुङले भने।

- भिमपाणि बराल