राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौ २२ असोज। व्यवस्थापिका-संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ। गत २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको विधेयक आइतावार पारित भएको हो।

आइतवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गरेका थिए। त्यस्तै, बैठकले ‘प्रधानन्यायाधीश तथा सवोर्च्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतले पारित गरेको छ। बैठकले ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ लाई पनि सर्वसम्मतिले पारित गर्‍यो ।

यसैबीच, व्यवस्थापिका-संसद्को आइतावारको बैठकले ‘महिला आयोग विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ। महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको प्रतिवेदनसहित उक्त विधेयक सदनमा प्रस्तुत भएको थियो।

बैठकमा दुर्इ फरक समितिका वाषिर्क प्रतिवेदन पेस भएका छन्। विधायन समितिका सभापति गंगा चौधरी सत्गौवाले ‘विधायन समितिको वाषिर्क प्रतिवेदन, २०७४’ र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वाषिर्क प्रतिवेदन, २०७४’ बैठकमा पेस गरेका हुन्। व्यवस्थापिका-संसद्को अको बैठक यही असोज २४ गते दिउँसो १ बजे बस्नेछ।

- अादर्श समाज सम्वाददाता