नेपाल-भारत प्रबुद्ध समूहको बैठक निश्कर्षविहीन

काठमाडौ, २२ असोज। नेपाल र भारतबीच गठित प्रबुद्ध समूह -इपीजी)को बैठक ठोस सहमति बिना नै सम्पन्न भएको छ।

दुर्इ दिनसम्म भएको पाँचौं बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाम, यसअघि दुर्इ देशबीच गरिएका सन्धि-सम्झौताको पुनरावलोकनलगायत विषयमा छलफल भएको थियो। यद्यपि, कुनै विषयमा पनि ठोस सहमति भने बनिनसकेको नेपाली पक्षका संयोजक डा भेषबहादुर थापाले जानकारी दिए।

बैठकमा भारतीय पक्षले सीमा नियमन व्यवस्थित गर्न चेक प्वाइन्टमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ।

बैठकमा सुरक्षा, जलस्रोत, द्विपक्षीय जनजीवनका बारेमा प्रशस्त छलफल भएको डा थापाले बताए। सीमा नियमनका बारेमा पनि समग्रतामै छलफल भइरहेको अर्का सदस्य डा राजन भट्टराईले जानकारी दिए। नेपालले जोड दिएको सन् १९५० को मैत्री सन्धि पुनरावलोकनका विषयमा भने यस पटक खासै धेरै छलफल भएन।

अको बैठक आगामी नोभेम्वरको ११ र १२ मा भारतको नयाँ दिल्लीमा गर्ने निर्णय गरिएको छ। बैठकमा नेपालतर्फबाट संयोजक डा भेषबहादुर थापा तथा सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा राजन भट्टराई थिए। भगतसिंह कोसियारीको नेतृत्वमा रहेको भारतीय पक्षको अरु सदस्यमा डा बिसी उप्रेती र महेन्द्र पी लामा थिए।

- अादर्श समाज सम्वाददाता