औद्योगिक वातावरण बन्ने आशमा व्यवसायी

चितवन, २२ असोज। केन्द्रीय स्तरमा वामपन्थी दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एलायन्स गर्ने र त्यस लगत्तै एउटै वाम पार्टीनिर्माण गर्ने घोषणाले यहाँका व्यवसायी उत्साहित भएका छन्।

वामपन्थी एउटै मोर्चाबाट निर्वाचन लडिरहँदा  प्रजातन्त्रवादीलाई पनि एउटै मोर्चा बनाउन दबाब सिर्जना भएको भन्दै व्यवसायीले यसले आगामी दिनमा स्थिर सरकार बनेर औद्योगिक वातावरण तयार हुने आशा व्यक्त गरेका छन्।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले वामपन्थीबीचको चुनावी मोर्चाले आगामी दिनमा स्थिर सरकार बन्ने आशा व्यक्त गरे। उनले भने-‘वाम एकता असाध्य राम्रो पक्ष हो, यो दीर्घकालिन हुनुपर्छ।’

हरेक राजनीतिक दलले अबको बाटो समृद्धि हुने बताइरहँदा स्थिर सरकार बनेमा औद्योगिक वातावरण तयार हुने उनको भनाइ छ। गौतमले भने-‘स्थिर सरकार बन्यो भने आन्तरिक र बाह्य लगानी भित्राउन सहज हुन्छ।’ वामपन्थी एलायन्सले तत्कालीन रूपमा औद्योगिक क्षेत्रमा असर नपर्ने बताउँदै उनले बहुमत सहितको सरकार बन्यो भने त्यो औद्योगिक क्षेत्रका लागि सकारात्मक कुरा भएको उल्लेख गरे।

अब बन्ने सरकारले औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै जानुपर्ने बताउँदै गौतमले वाम एलायन्स कसैको हार र जितका लागि मात्रै प्रयोग हुन नहुने बताए।

पोल्ट्री व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा तिलचन्द्र भट्टराईले निजी क्षेत्रलाई स्थिर सरकारको आवश्यकता रहेको बताए।

नेपालको संविधान अनुसार कुनै पनि दलको बहुमत आउने अवस्था नरहेको बताउँदै भट्टराईले वाम एलायन्सले निर्वाचनपछि स्थिर सरकार बन्ने आशा व्यक्त गरे।

वाम एलायन्स भइरहँदा प्रजातन्त्रवादीलाई पनि एउटै मोर्चामा निर्वाचन लड्न बाध्य पारेको बताउँदै भट्टराईले त्यसले धेरै दलहरूलाई घटाएर दुर्इ/तीन वटा मुख्य दलमा ल्याउने आशा व्यक्त गरे।

उनले भने-‘नेताहरूले भने अनुसार गरेका छैनन्, भनेअनुसार गरे भने त्यो समग्र क्षेत्रका लागि राम्रो हो।’

वाम एलायन्स भइरहँदा लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भईरहेको बताउँदै उनले नेताहरूले भने अनुसार हुने हो भने यो सुनौलो अवसर हो, यसलाई कार्यान्वयन गरेर जानुपर्ने उल्लेख गरे। उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले दल मिल्नु उद्योगी व्यवसायीका लागि राम्रो भएको बताए।

उनले धेरै दल र संगठनलाई व्यवसायीले चन्दा दिँदा दिं’दा वाक्क भएको बताउँदै धेरै दल एउटै बन्दा चन्दा आतंक कम हुने अपेक्षा व्यक्त गरे। दलहरू मिल्नुले औद्योगिक वातावरण बन्ने सम्भावना रहेको भन्दै उनले यसलाई दीर्घकालीन रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

- अादर्श समाज सम्वाददाता