तनहुँका किशोर पोखरामा बेखबर

पोखरा, २२ असोज। घरबाट भागेर हिँडेका तनहुँका एक किशोर पोखराबाट बेखबर बनेका छन्।

परिवारमा विवाद भएर पोखरा निस्केका तनहुँ घाँसीकुवा नगरपालिका वडा नं. ११, तातोपानीसेराका १६ वर्षीय प्रवीण परियार विहीवार दिउँसोदेखि सर्म्पर्कविहिन भएका हुन्।

गत असोज १७ गते बिहानै ७ बजे चप्पल समेत नलगाई ५० रुपैंया साथमा बोकेर हिँडेका प्रवीण घर नफकेको लोकगायक समेत रहेका बुबा नारायण परियारले जानकारी दिए।

उनको खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय, कास्की र तनहुँ प्रहरीमासमेत निवेदन दिएका छन्। गहुँगोरो वर्ण्रण हातमा पोलेको खत, नाक र ओठबीचमा कोतरिएको खत, आँखामुनी ठूलो खत रहेका प्रवीणलाई देखेको खण्डमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन वा ९८०६७२७१४२, ९८१६६४०१८९ मा सर्म्पर्क गरिदिन परिवारले आग्रह गरेका छन्।

‘दश कक्षा पढेको १६ वर्ष भईसकेको छोरो, राम्ररी पनि नपढ्ने। खाली साथीभाइसँग डुल्न हिँड्ने, राति घरमासमेत नआउने गरेपछि गाली गरेको हुँ’-नारायणले भने-‘घरै छोडेर हिँडिदियो। कति दुःख दिन जानेका अहिलेका केटाकेटीले।’

तीन छोरा र दुर्इ छोरीमध्ये प्रवीण दुर्इ छोरीपछिको जेठो छोरो रहेको उनले जनाए। प्रवीण फरकद्धौरस्थित बाराही माविमा कक्षा १० मा  पढ्दै आएका छन्। ‘तनहुँमा १६ १७ वर्षका केटाहरू खुकुरी हानाहान गरी मान्छे नै मारेको घटनाहरू धेरै बढेका छन्। गलत संगतमा पर्छ कि भनेर सम्झाउँदा पनि विष भो’-उनले भने।

बिहीवार बिहानै ७ बजे गोडामा चप्पलसमेत नलगाई घरबाट हिँडेका प्रवीणसँग ५० रुपैयाँ मात्र साथमा रहेको नारायण सुनाउँछन्। आँबुखैरेनीसम्म आउँदा पैसा सकेपछि एउटा बसमा पोखरासम्म आएर भाडा नलिएको थाहा भएको उनले जानकारी दिए। ‘बिहीवार छोरा आएकै लोकल गाडीमा शुक्रवार म पनि आएछु। बाग्लुङ बसपार्कमा झरे एउटा चिनेकै होटलमा एकछिन पसेको थाहा भयो। त्यसपछि देखिएन’-उनले भने-‘आमा चाहिँ रोएर मर्न लाको छ। जता भएपनि घर आइज भन्न चाहन्छु।’

- अादर्श समाज सम्वाददाता