कम्युनिष्ट केन्द्र बनाएर अघि बढ्ने प्रचण्डको उद्घोष

काठमाडौं, २१ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताएका छन्।

शनिवार काठमाडौंमा भएको पार्टीप्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला नेपालका कम्युनिष्टलाई जनताको अपार समर्थन र विश्वास रहेकोले यसलाई मर्न नदिन यो एकीकरण भएको बताए।

‘विभिन्न धारामा रहेका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याएर मात्र नेपालमा समाजवादी क्रान्ति गर्न सकिन्छ। समाजवादी क्रान्तिको तयारीमा लाग्ने वैचारिक प्रतिवद्धतासहित पार्टीएकताको तयारीमा जुटेका छौं। यो हामी सबैका लागि महान् बहस हो, समाजवादी क्रान्तिका लागि महान् बहसमा जुटौं, फराकिलो छाति बनाएर कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गरौं’-उनले भने ।

पार्टीएकता कसैले कसैलाई निल्ने विषय नभएको बताउँदै अध्यक्ष दाहालले समान उद्धेश्यका लागि वैचारिक एकतासहित नयाँ उचाईमा पुग्ने प्रक्रिया भएको जिकीर गरे। अध्यक्ष प्रचण्डले भने-‘हाम्रा आ-आफ्नै मान्यता र दृष्टिकोण छन्, त्यसमा अडिएर एकता हुँदैन। एमाले-माओवादी दुबैले महान् बहसको प्रक्रियाद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं। हामी आफै पनि रूपान्तरणको प्रक्रियामा छौं, कम्युनिष्ट आन्दोलन र सि·ो राष्ट्रलाई रूपान्तरण गरेर मात्र विश्वलाई नयाँ सन्देश दिन सकिन्छ।’

प्रशिक्षणमा आफूले नै एकताको प्रस्ताव गरेको दाहालले बताए। हाम्रै प्रस्तावमा एकता प्रक्रिया आरम्भ भएको हो। यो फस्ने, फसाउने विषय होइन, हामी इमान्दार भएर अन्तिमसम्म एकताकै प्रक्रियामा जान्छौं’-उनले भने।

चुनावी समीकरण र पार्टीएकता प्रयास कसैका विरुद्ध नभएको भन्दै नेपालमा वैचारिक धारामा नजिक रहेका पार्टीमिल्दा नै देश र जनताको हित हुने उनले बताए। एमाले-माओवादी एकताले देशमा तत्कालै साम्यवादी शासन आउने र अधिनायकवाद पनि नजन्मने उनले बताए। संविधानले समाजवादउन्मूख राज्यको दिशानिर्देश गरेकोले शान्तिपूर्ण र राजनीतिक प्रतिस्पर्धाकै माध्यमबाट समाजवादमा जानेसमेत उनले उल्लेख गरे।

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कम्युनिष्ट क्रान्तिकारी र बामपन्थीको एकता राष्ट्रको हितमा भएको बताए। नेता श्रेष्ठले भने-‘स-साना समूहमा रहेर समाजवादको कार्यभार पुरा गर्न सकिँदैन। समाजवादका पक्षधर सम्पूर्ण शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन। हाम्रो एकता र सहकार्यको प्रयास राष्ट्रको हितमा छ। यो प्रयासलाई खुट्टा नकमाइकन एकतामै लागे संकल्प गर्नुपर्छ।’

यस्तै अर्का नेता रामबहादुर थापा ‘बादल’ले पार्टीएकता एमालेको माओवादीकरण र माओवादीको एमालेकरण नभएको बताए। नेता बादलले भने-‘बजारमा माओवादीको एमालेकरण वा एमालेको माओवादीकरण जस्ता प्रायोजित विषय उठाइएको छ। माओवादी एमालेमा विलय हुने होइन, एमाले माओवादीमा विलय हुने कुरा पनि होइन। बरु, दुवैले आफ्ना दृष्टिकोण र मान्यताबाट माथि उठेर क्रान्तिको नयाँ सिद्धान्त निर्माण गर्ने र नयाँ पार्टीनिर्माण गर्ने हो।’

एमालेद्वारा तालमेल र

एकीकरण निर्णय अनुमोदन

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको वाम एकता ऐतिहासिक भएको एमालेले निष्कर्ष निकालेको छ। पार्टीकार्यालय धुम्बाराहीमा शनिवार बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो। प्रमुख विपक्षी एमालेले लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न नेपाली काँग्रेसलाई चेतावनी पनि दिएको छ। माओवादीसँग भएको सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय पनि एमालेले गरेको छ।

आफूको सहमति काँग्रेसविरुद्ध नभएको भन्दै एमालेले अराजनीतिक टिपप्णी नगर्न आग्रह गरेको छ। बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले हचुवा र अराजनीतिक टिप्पणी नगर्न र लोकतन्त्रमाथिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरे।

निर्वाचन कार्यक्रम शुरु भइसकेको र निर्वाचन आयोगले चेतावनी दिइसकेकाले मन्त्रिपरिषद हेरेफर स्वीकार्य नहुने पनि एमालेले प्रष्ट पारेको छ। बैठकमा वामपन्थी एकताको समीक्षा गर्नुका साथै हालसम्मका निर्णय अनुमोदन गरिएको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता