संशोधनपछिको वरिष्ठ उपाध्यक्ष कसले मार्ला बाजी ?

आसन्न लेखनाथ उद्योग वाणिज्य संघको ११ औं महाधिवेशन अन्तरगत असोज २८ गते हुने निर्वाचनको माहोले यस क्षेत्रका उद्योग व्यवसायीलाई तताएको छ। यस भन्दा अघि अध्यक्ष र सदस्य पदमा निर्वाचन भई अध्यक्षबाट पदाधिकारी मनोनय गर्ने प्रचलन थियो तर, अहिले विधान संशोधनले सबै पदमा निर्वाचनको व्यवस्था गरेको छ भने वरिष्ठ उपाध्यक्षको नयाँ पद सृजना गरिएको छ। वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल र पाँच पटकसम्म कार्यसमिति सदस्य भएर काम गरिसकेकी महिला उम्मेदवार गीतादेवी सुवेदी चुनावी मैदानमा होमिएका छन्। ढकाल अध्यक्ष पदका उमेदवार कृष्णहरि भण्डारीको समूहबाट उम्मेदवार बनेका हुन भने सुवेदी वसन्त मोहन भट्टराई समूहबाट अगाडि वढेकी छन्। संघलाई राजनीतिक क्षेत्रबाट मुक्त राख्नु पर्छ भन्ने आदर्शका कुरा गर्दै आए पनि वरिष्ठ उपाध्यक्षका दुबै प्रत्यासी फरक राजनीतिक धारबाट चुनावी मैदानमा छन्। व्यवसायीका हकहितका सवालमा कुरा उठाउँदै आएका दुबै उमेदवारसँग गरिएको संक्षिप्त कुराकानीमा दुबै उम्मेदवारले चुनाव जित्ने दाबा गरेका छन् ।

नेतृत्वलाई व्यवसायीले विजय ठानेका छन्ः ढकाल

लेखनाथ उद्योग वाणिज्य संघमा प्रवेश गर्नासाथ कोषाध्यक्ष त्यसपछि महासचिव, द्वितीय उपाध्यक्ष र हालका प्रथम उपाध्यक्ष बलराम ढकाल विधान संशोधन भएपछि सृजना भएको वरिष्ठ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।

सानो लगानीबाट व्यवसाय प्रवर्द्धन गदै आएका ५२ वर्षका ढकाल संघलाई समयको माग र परम्परागत शैली भन्दा भिन्न ढङले अगाडि बढाउने सोचले गठन भएको समावेशी टिमका तर्फबाट प्रतिनिधित्व गरेकाले आफ्नो टिमले चुनाव जित्नेमा ढुक्क देखिन्छन्। योग्यता र क्षमतालाई व्यवायीले नजिकबाट हेरेका र आफुले पनि सबै व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता पेश गरेकाले संस्थाको गरिमालाई उच्च राख्न, आगामी दिनमा व्यवसायीको रायसुझाव अनुसार नै अगाडि बढ्ने धारणा सुनाउछन्।

‘संघलाई सहमति र सहकार्यका आधारमा अगाडि बढाउने जुन सोच संस्थापन पक्षको थियो तर केही साथीले सस्थालाई भन्दा पदलाई महत्वपूर्ण ठानेर अगाडि बढ्नु भयो तर उहाँहरूलाई पनि थाहा छ हामी गलत बाटोमा हिँडिरहेका छौ’-उनले भने।

देशमा स्थानीय सरकार नहुँदा संघले सामाजिक कार्यमा पनि काम गर्नु पर्ने जुन बाध्यता थियो तर आज देशमा स्थानीय सरकार बनिसकेको छ अब हामी नितान्त व्यवसायीका हक हितका सवालमा आवाज उठाउन लाग्ने उनको भनाइ छ।

विगतका भन्दा भिन्न तरिकले संघ अगाडि बर्ढाई व्यसायीले पनि समय अनुकुलको उद्देश्य प्राप्तिको चाहन गरेकाले यहीँ चाहनलाई पूरा गर्नेमा आफु पनि तयार रहेको उनी बताउछन्।

यो टिमका पछाडि सस्थापक, पूर्व अध्यक्ष र सवै बस्तुगत संघका व्यवसायीको साथ र सहयोग मिलेको दावा गर्दै यो टिम आम व्यवसायीको टिम भएका कारण एकता र सामूहिक भावना भएकाले चुनाव जित्नेमा कुनै दुर्इ मत नभएको उनको ठम्याई छ। आफु र आफनो टिमको विजय भनेको व्यवसायीको विजय भएकाले समावेशी टिम विजयको नजिक पुगेको उनको दावा छ।

सहकार्य गर्न खोज्दा पालो दिएनन् : सुवेदी

विगत पाँच कार्यकालसम्म कार्यसमितिमा रहेर काम गर्दै आएकी महिला व्यवसायी गीतादेवी सुवेदीले अहिले उच्च मनोवलका साथ लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।

उमेरले ४४ वर्ष पुगे पनि संघका लागि उनी पाको उम्मेदवारका रूपमा चिनिन्छन्। सुवेदी विगतका वर्षमा नै पदाधिकारीमा जाने प्रयास गरे पनि महिलालाई अधिकार नदिएको भन्दै अहिले आम महिला व्यवसायीको प्रतिनिधित्व गरेर चुनावी मैदानमा उत्रिएको बताउछिन्।

महिलालाई व्यवसायतर्फ उन्मुख गराउनु पर्छ भन्ने चाहना बोकेर संघमा प्रवेश गरेकी सुवेदी निरन्तरको लगाव कामको विश्वसनियता र हसिलो पनलाई आफनो परिचय ठान्दछिन्।

जहाँ अधिकार खोसिन्छ, महिला नै भनेर अधिकारबाट बञ्चित गरिन्छ भने अधिकार मागेर होइन खोसेर लिनु पर्छ भन्ने सोचका साथ आफुले उम्मेदवार दिएको उनी बताउछिन्। कहिले मनोनित त कहिले प्रतिष्पर्धाबाट भए पनि संघमा महिलाको प्रतिनिधित्व गर्दै आएकी सुवेदी आम व्यवसायीले विगतमा पनि मत दिएर जिताए भने अहिले पनि जिताउनेमा विश्वस्त देखिन्छिन्।

आफ्नो पक्षमा खुलेर नबोले पनि गोप्य मतदानबाट आफुलाई मत दिनेको सख्या ठुलै भएकाले चुनाव जित्नेमा उनी ढुक्क छिन्। विधान संशोधनले चुनाव लड्न सजिलो बनाएकाले कसैको आर्शीवाद र मायाले होइन आम व्यवसायीको मतले विगतमा पनि जित्दै आएको र अहिले पनि जितेरै छाड्ने उनी बताउछिन्।

महिला व्यवसायी होस वा साना त्यसमा पनि पूर्व अध्यक्षदेखि अग्रजहरूको साथ आफ्नो टिमलाई रहेको र आगामी दिनमा पनि व्यवसायिक हक हितका सवालमा तालिम, गोष्ठी र भ्रमणका योजनालाई अगाडि सारेकी सुवेदीले संघका उद्यमशील महिलालाई प्रवेश गराउने सबालमा विगतमा पनि काम गरेको र भविष्यमा पनि काम गरेर देखाउने प्रतिवद्धता जनाएकी छन्।

संघलाई नयाँ सोच र समय अनुसारको सुचना प्रविधिबाट आगाडि बढाउनु पर्ने थियो तर त्यो भएन र आम व्यवसायीको सवालमा काम गर्दै जाने र महिलालाई पद दिनु हुन्न भन्नेलाई चुनौतीका साथ चुनाव जितेरै देखाउने उनी बताउछिन्।

- भिमपाणि बराल