एमाले-माओवादी दक्षिणपन्थी बाटोमा : महामन्त्री सिंह

चितवन, २१ असोज। नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी बाटोतर्फ लागेका कारण आफ्नो दल एकीकरणमा नजाने बताएका छन्।

शनिवार नवलपुरको गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले उनीहरूको एकता वामपन्थी एकता हुन नसक्ने बताए। एकीकरणलाई सकारात्मक भन्दै उनले चुनावी तालमेल र कार्यगत एकता भने हुन सक्ने बताए। सिंहले भने-‘एमाले-माओवादी-नयाँ शक्तिको मोर्चासँग चुनावी तालमेल र कार्यगत एकता हुन सक्छ, पार्टीएकीकरण सम्भव छैन।’ उनले वामपन्थी एकताका लागि माओवादी र एमालेले आफ्नो नीतिमा सुधार गर्नुपर्ने बताए।

एमाले, माओवादी र नयाँ शक्ति पार्टीबीचको ताममेल र एकताको सहमति सही भएको उनको निष्र्कष छ। महामन्त्री सिंहले भने-‘चुनावी तालमेल र एकताको कुरा सकारात्मक छ, तर बन्ने नयाँ पार्टीकम्युनिष्ट पार्टीभने बन्दैन, एमाले माओवादी आधारभूत रूपमा कम्युनिष्ट होइनन्।’

उनले सच्चा कम्युनिष्ट पार्टीबनाउने हो भने आफू जस्तोसुकै भूमिकामा रहन तयार रहेको बताए। उनले भने-‘सच्चा कम्युनिष्ट पार्टीबनाउने हो भने म जुनसुकै भूमिका निर्वाह गर्न पनि तयार छु, सामान्य कार्यकर्ता बन्न पनि तयार छु।’

नेपालको राजनीतिमा पटक पटक भारतले हस्तक्षेप गरेको बताउँदै सिंहले ओली सरकारबाट भारतले फुटाएर प्रचण्डलाई देउवासँग मिलाएको आरोप लगाए। भारतको इच्छा विपरित संविधान बनेको बताउँदै महामन्त्री सिंहले संविधान पक्षधरलाई भारतले फुटाउन चाहेको बताए।

उनले भने-‘सबै पक्षहरू मिलेर अगाडि बढ्नु पर्छ।’ संविधान कार्यान्वयनका लागि संविधान पक्षधरहरू एक हुनु अहिलेको आवश्यकता रहेको बताउँदै एकता पक्षधर भारतीय विस्तारवादका विरुद्ध लाग्नुपर्ने बताए।

आफूहरू संघीयताको विरोधी भएको बताउँदै संविधानमा भएका राम्रो कुराको समर्थन गर्दै यसलाई उपयोग गरेर अगाडि बढ्ने बताए। उनले भने-‘प्रदेशको निर्वाचनमा पनि हामी भाग लिन्छ, यसलाई उपयोग गर्दै अगाडि बढ्छौं।’ कांग्रेसको लोकतान्त्रिक गठबन्धनमा राजमोले तालमेल गर्ने भन्दै बाहिर आएका समाचार सत्य नभएको उनको भनाइ छ।

- अादर्श समाज सम्वाददाता