दियालो कृषि सहकारीमा त्रिपाठी

हेमजा, २१ असोज। पोखरा-२५, हेमजा स्थित दियालो कृषि सहकारी संस्थाको शनिवार सम्पन्न छैटौं वाषिर्क साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः मोहनप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले समितिको उपाध्यक्षमा प्रकाशचन्द्र त्रिपाठी, सचिवमा प्रकाश त्रिपाठी ‘व्यथित’, सहसचिवमा हरि पौडेल, कोषाध्यक्षमा पार्वती बास्तोला तथा सदस्यमा किरणकुमार रञ्जित, कुलप्रसाद त्रिपाठी, टीकाराम त्रिपाठी, कल्पना छन्त्याल, सुशिला बास्तोला र हरिप्रसाद त्रिपाठीलाई छनोट गरेको छ।

सो भेलाले राजेश त्रिपाठीको संयोजकत्वमा नेत्रपाणि त्रिपाठी र बविता बास्तोला सदस्य रहेको लेखा समिति, कुलप्रसाद त्रिपाठीको संयोजकत्वमा अशोक त्रिपाठी र दलबहादुर रोक्का सदस्य रहेको ऋण उपसमिति पनि गठन गरेको छ। त्यस्तै प्रकाशचन्द्र त्रिपाठीको संयोजकत्वमा शिक्षा उपसमिति पनि निर्माण गरिएको छ। जसका सदस्यमा वेदराज त्रिपाठी र लक्ष्मी बास्तोला रहेका छन्।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद त्रिपाठीले सहकारीले कृषि क्षेत्रलाई विशेष महत्व दिँदै आएको बताए। उनले नेपालमा कृषि पेसालाई सम्मानित पेसा बनाउनुपर्ने धारणा पनि राखे। सदस्य पार्वती बास्तोलाले हेमजाका सहकारी बीच विद्यागत रूपमा एकीकरण गरिनुपर्नेमा खाँचो औल्याइन। सेयर सदस्य केशवशरण पौडेलले विगतको तुलनामा युवा आकर्षणका कारण सहकारी बलियो बन्दै गएको धारणा राख्दै सहकारीले दैनिक बचतको कारोवारलाई भने अझै बढाउनुपर्नेमा जोड दिए। सेयर सदस्य लक्ष्मी बास्तोलाले सहकारीका युवा आकर्षण बढेकाले त्यसले सहकारीको भरोसा बढाउनुपर्ने तर्क गरिन।

कार्यक्रममा बीच सचिव प्रकाशचन्द्र त्रिपाठीद्वारा प्रस्तुत सचिवको प्रतिवेदन,सह-सचिव हरि पौडेलद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक विनोदराज पौडेलको लेखा प्रतिवेदन साथै ऋण उपसमिति संयोजक भेषराज बास्तोलाद्वारा प्रस्तुत प्रतिवेदन छलफल गरी अनुमोदन भएको थियो। सहकारीले आफ्ना संस्थापक अध्यक्ष भेषराज बास्तोलालाई सम्मान पनि गरेको छ।

सदस्य सुशिला बास्तोलाले सहकारीका सात सिद्घान्त वाचन गरेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष भेषराज बास्तोलाले स्वागत, सहकारीका अध्यक्ष मोहनप्रसाद त्रिपाठीको अध्यक्षतामा सचिव प्रकाशचन्द्र त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता