‘अग्निदहन’ प्रदर्शनको तयारी पूरा

हेमजा, २० असोज।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ पोखरामा प्रदर्शन हुने भएको छ।

संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी असोज ३० मा श्रीकृष्ण चलचित्र हलमा उक्र चलचित्र प्रदर्शन गरिने जनाएको हो ।

प्रतिष्ठान अध्यक्ष कोविदशरण उपाध्यायले चलचित्रलाई नेपालका कुुनाकुनामा प्रदर्शन गरिने बताए।उनले चलचित्रलाई मैथिली र भोजपुरी भाषामा पनि रूपान्तरण गर्न सुझाव आएको छ भन्दै त्यसको तयारीमा समेत प्रतिष्ठान रहेको जनाए।

उनले ठूलो धनराशी र मेहनतका साथ चलचित्र निर्माण गरेको जानकारी दिँदै चलचित्रको मर्म आमजनतामाझ पुर्‍याएर आगामी १५ वर्षभित्र नेपालबाट बोक्साबोक्सी कु-प्रथा अन्त्य गरिने धारणा राखे।

प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले विभिन्न अन्धविश्वासका कारण नेपालमा विभिन्न कुप्रथा मौलाइरहेको छन् भन्दै त्यस्ता कुप्रथालाई प्रशय दिने अधिकार कसैसँग पनि नभएको बताए।

उनले प्रतिष्ठानले नेपालबाट बोक्सी कुप्रथा अन्त्य गर्ने लक्ष्य लिएकोमा त्यस लक्ष्य प्राप्त गर्न चलचित्र सन्देशमूलक हुने विश्वास व्यक्त गरे।

चलचित्रका निर्देशक घनश्याम लामिछानेले चलचित्र विशुद्घ सामाजिक रहेको धारणा राखे। उनले अधिकांश चलचित्र मनोरञ्जनमूलक बन्ने गरेको स्मरण गर्दै बोक्सी कुप्रथा अन्त्यका लागि चलचित्र कोशेढुंगा सावित हुने दावी गरे।

प्रतिष्ठानका महासचिव श्रीभद्र पौडेलले संस्थाबारे जानकारी दिए। उनले अभियान नागरिकस्तरबाट सञ्चालन भइरहेको धारणा राखे।

कलाकार प्रमिला तुलाचनले चलचित्र सामाजिक साथै सन्देशमूलक रहेकाले त्यसको प्रदर्शनमा सचेत आमनागरिकले भूमिका खेल्नुपर्ने बताइन्।

चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, ताराबहादुर गुरुङ, विष्णु बास्तोला, ओमराज पौडेल, दुर्गा न्यौपाने, लक्ष्मण ढुंगाना, सरलाकुमारी पाण्डे, विजय राई, प्रसिना आचार्य, डा निर्मल लामिछाने, डा दमन पौडेल, माधवशरण पौडेल लगायतको मुख्य भूमिका छ ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका महासचिव श्रीभद्र पौडेलले स्वागत तथा संघका सचिव सुशान घिमिरेले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता