नारी उत्थानको साधारण सभा

पोखरा, २१ असोज। नारी उत्थान दिदीबहिनी समूह, पोखरा लेखनाथ- १७, छोरेपाटनको छैटौं साधारणसभा शनिबार सम्पन्न भयो।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी लीलाभक्त आचार्यले स्थापनाको छोटो अवधिमै नारी उत्थान दिदीबहिनी समूहले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरे।उनले युगसापेक्ष रूपमा नारीवर्ग हरेक क्षेत्रमा अघि बढ्दै नेतृत्व तहमा समेत पुग्न सक्नु राष्ट्र र समाजका लागि सकारात्मक पक्ष भएको बताए।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाकी बोर्ड सदस्य राधिका योगीले महानगरपालिका र वडा नं १७ का संघसंस्था सम्बन्धी योजनाबारे प्रकाश पार्दै महिला वर्गको हकहितको संरक्षण र सीपविकासमा सहयोग गर्न आफू तत्पर रहेको बताइन्।

समूहका सल्लाहकार माधव वियोगीले जहाँ नारीहरू एक छन् त्यहाँ विकास र निर्माण तीव्र गतिमा हुन्छ भन्ने संकेत नारी उत्थान दिदीबहिनी समूहले गरेको बताए।

कार्यक्रममा वडा नं १७ का माओवादी केन्द्रका अध्यक्ष वेदप्रसाद भण्डारी, अधिवक्ताद्वय सुकदेव गौतम तथा जानकी शर्मा र समाजसेवी दीपक सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समूहकी सचिव रीता सुवेदीले सञ्चालन र उपाध्यक्ष जानुका पौडेलले स्वागत गरेको सो कार्यक्रममा अध्यक्ष सरिता घिमिरेले वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष सम्झना थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।सो अवसरमा समूहको स्थापना कालमा विशेष भूमिका खेल्ने पूर्णकला सुवेदी र समूहका ज्येष्ठ आजीवन सदस्यत्रय ठगकुमारी शाही, जीतकुमारी गुरुङ र वेदुमाया सुवेदीलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रम समूहकी अध्यक्ष सरिता घिमिरेको अध्यक्षतामा भएको थियो।

- एजेन्सी