पत्रकार पौडेल काँगे्रस पर्वतबाट प्रदेशका लागि सिफारिस

पोखरा, २१ असोज। नेपाली काँग्रेस पर्वतको क्षेत्र नम्बर १ (क) बाट पत्रकार रमेश पौडेल सर्वसम्मत प्रदेश सांसदका लागि समानुपातिकतर्फ सिफारिस भएका छन्।

नेपाली काँगेस पर्वत क्षेत्र नम्बर १ ले पौडेललाई सिफारिस गर्ने निर्णय गरेपछि पौडेललाई सिफारिस गरिएको पर्वत कांग्रेस सभापति  खिमप्रसाद भुषालले जानकारी दिए।

लामो समय पत्रकारिता गरेर लोकतान्त्रिक आन्दोलनलगायत समाज परिवर्तनमा योगदान दिएको व्यक्ति भएकाले उनलाई सिफारिस गरिएको भुषालको प्रतिक्रिया छ।

‘लामो समय पत्रकारितामार्फत योगदान दिनुभयो, त्यतिको व्यक्तिलाई पाउँदा किन सिफारिस नगर्ने भन्ने भयो र सिफारिस् गरेका हौं’-उनले भने-‘अपेक्षा छ, केन्द्रले उपयुक्त निर्णय गर्नेछ।’

नेपाली काँग्रेस निकट पत्रकारको संस्था प्रेस युनियनको निर्वाचित केन्द्रीय उपाध्यक्ष रहेका पौडेल विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन्।

उनी अहिले पोखराको रेडियो बाराहीमा कार्यकारी निर्देशक, नेपाल टेलिभिजन र गोर्खापत्र दैनिकमा कार्यरत छन्।

स्वच्छ छविका पत्रकार पौडेलले टिकट पाएर सांसद बने पर्वतका साथै समग्र प्रदेश नम्बर ४को विकासमा महत्वपूर्ण योगदान दिन सक्ने कांग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाई बताउँछन्।

पत्रकार पौडेल युनियन अलावा अन्य संगठनका पत्रकारसँग पनि उत्तिकै निकट सम्बन्ध राख्छन्।

आफूलाई सिफारिस गरेकामा पर्वत काँग्रेसप्रति आभार प्रकट गर्दै पौडेलले अवसर पाए पर्वतको विकास निर्माण र समग्र प्रदेश नम्बर ४ कै सम्वृद्धिका लागि लागि पर्ने बताए।

- एजेन्सी