बगाले थापा क्षत्रीको साधारण सभा

पोखरा, २१ असोज। विभिन्न स्थानबाट पोखरा आई बसोबास गर्दै आएका बगाले थापाहरूको छैठौं साधारणसभा शनिवार पोखरामा सम्पन्न भएको छ।

सभाका सहभागीले बगाले थापाको पहिचान र अस्तित्व संरक्षणका लागि एक हुनुपर्नेमा जोड दिए। सोही समारोहमा बगाले थापा समितिका संस्थापक संयोजक मोहन थापाले २०११ सालमा काठमाडौंमा भएको थापा भेलाले कुल सुधार मण्डलको गठन गरेको जानकारी गराए।

त्यसैगरी, २०४५ सालको महाशिवरात्री पर्वमा पोखरामा थापा भेला गराई बगाले थापा कुल सुधार समिति गठन गरिएको पनि उनले उल्लेख गरे। समिति गठन पश्चात म्याग्दीबाट मुलधामी अमरसिंह थापालाई पोखरा ल्याई सेती नदी किनारबाट विधि पूर्वक पूजा आरम्भ गरिएको पनि उनले सो अवसरमा जानकारी गराए। झण्डै आठ लाख खर्चमा बाटुलेचौरमा बगाले थापा कुल मन्दिर निर्माण कार्य पनि सम्पन्न गरेको समितिका कोषाध्यक्ष एकबहादुर थापाले सभामा जानकारी गराए। मन्दिर निर्माणका लागि शेरबहादुर थापा र रत्न थापाले जग्गा उपलब्ध गराएका थिए।

समितिका ज्येष्ठ सदस्य इन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा समितिका सचिव झलक थापाले कार्यक्रम सञ्चालन गर्दै समितिले गरेका उल्लेख्य कार्यमा प्रकाश पारेका थिए। समितिका अध्यक्ष बद्रिबहादुर थापाको अध्यक्षतामा भएको साधारण सभामा समितिका सल्लाहकार सूर्यबहादुर थापाले पनि थापाहरूको इतिहासका बारेमा चर्चा गरेका थिए।

- एजेन्सी