कास्कीमा चुनावी रन्को

पार्टीलार्इ उम्मेदवार सिफारिसको चटारो

ठूला वाम शक्ति एक ठाउँमा आएपछि उम्मेदवार छनौट र चुनावी माहौलमा पनि नयाँ समीकरण शुरु भएको छ।

वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवार पनि हेरफेर हुन सक्ने बुझिएको छ। यसअघि कास्कीमा एमाले र माओवादीले उम्मेदवार सिफारिस गरिसकेका थिए। तर, समीकरणपछि फिर्ता लिने र पुनः उम्मेदवार चयन गरिने दुबै पार्टीले जनाएको छ। यद्यपी ठूला दल उम्मेदवार सिफारिसका लागि निरन्तर छलफलमा जुटिरहेका छन्। काँग्रेसले सबै क्षेत्रको प्रत्यक्ष र समानुपातिकका नामावली केन्द्रमा बुझाएको छ भने एमालेले पनि प्रत्यक्षतर्फका सबै उम्मेदवारको नामावली तयार पारिसकेको छ। माओवादीले भने केही क्षेत्र मात्रै टुंग्याएर गठबन्धनको निर्णय कुरेको छ। अन्य साना दल पनि केन्द्रिय निर्देशनमा अलमलिएका छन्।

वाम गठबन्धन पछि काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको पनि तयारी भैरहेको छ। जिल्लामा सक्रिय राप्रपा, संघीय समाजवादी फोरम, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति नेपाल लगाएतका पार्टीहरू केन्द्रको निर्णय कुरिरहेका छन्। जसका कारण केही दलले आन्तरिक रूपमा उम्मेदवार टुंग्याए पनि सार्वजनिक गर्न भ्याएका छैनन्। ‘आन्तरिक रूपमा हामी तयार छौं। नाम मात्रै सार्वजनिक गर्न बाँकी छ’-संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष दीपक तामाङले भने-‘लोकतान्त्रिक गठबन्धनको होहल्लाले रोकिएका हौं। केही दिनभित्रै सार्वजनिक हुन्छ।’ राप्रपा अध्यक्ष जयलाल पुनले पनि केन्द्रीय समितिबाट निर्देशन आउने वित्तिकै काम थाल्ने बताए।

काँग्रेसमा डेढ सय आकाङ्क्षी

काँग्रेसले तीन वटै क्षेत्रबाट संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरि पठाएको छ। प्रतिनिधि सभाका लागि तीन र प्रदेशसभाका लागि छ सांसद निर्वाचित हुने कास्कीमा काँग्रेसबाट मात्रै झण्डै सयको हाराहारीमा नाम सिफारिस भएको छ।

प्रत्यक्षतर्फ केन्द्रका लागि २१ र प्रदेशका लागि ६२ गरी ८३ जनाको नाम पठाइएको हो। समानुपातिकमा केन्द्रतर्फ १९ जना र प्रदेशमा ५५ गरी ७४ जनाको नाम सिफारिस गरिएको काँग्रेस कास्कीले जनाएको छ। उम्मेदवारीका लागि दर्ता गरिएका सबै नाम काँग्रेस कास्कीका सभापति कृष्ण केसी मंगलवार नै केन्द्रीय कमिटिलाई बुझाएका छन्।

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कानूनमन्त्री तथा सांसद यज्ञबहादुर थापा, पूर्व कानूनमन्त्री तथा सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, क्या फत्तबहादुर गुरुङ, गुरु बराल, तीलक रानाभाट र कृष्ण कार्कीको नाम सिफारिस भएको छ।

यस्तै, समानुपातिकतर्फ सरस्वती गुरुङ, गौरी सापकोटा, पद्मशरण रेग्मी, तारा अधिकारी, हेमबहादुर गुरुङ, संघीय पोखरेल पौडेल, परशुराम बि पोखरेलको नाम छ।

२ नम्बर क्षेत्रको प्रतिनिधि सभा प्रत्यक्षतर्फ देवराज चालिसे, सोभियतबहादुर अधिकारी, ऋषिराम काफ्ले, युवराज लामिछाने, डा परमेश्वर पोखरेल, गुरु बरालको नाम परेको छ। समातुपातिकतर्फ वृन्दादेवी आले, गंगाबहादुर खत्री, शकुन्तला कोइराला, रजनी केसी, प्राडा रामचन्द्र पोख्रेल, खेमकुमारी बराल, पदमसिंह गुरुङको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ शुक्रराज शर्मा, महादेव गुरुङ, सांसद शारदा पौडेल, खेमराज पौडेल, बाबुराम आचार्य, पोषनाथ शर्मा, दीपक गुरुङ र भरतजंग गुरुङको नाम केन्द्रमा पठाइएको छ। समानुपातिकतर्फ भोला थापा, सुरेन्द्र भारी, कृष्णकुमारी परियार, रामप्रसाद अधिकारी, मनबहादुर विक र गौमति थापामगरले उम्मेदवार बन्न दावी गरेका छन्।

प्रदेश सांसदतर्फ क्षेत्र नम्बर १ को (क) मा सुदीपमोहन भट्टराई, प्रमेकुमार श्रेष्ठ, पुष्पमणि भण्डारी, लालकृष्ण शर्मा, ठाकुरप्रसाद कँडेल, कोपीला रानाभाट, नन्दप्रसाद तिवारी, देवेन्द्र रानाभाट, रामबाबु भण्डारी, राजेन्द्रमणि लामिछाने, विन्दुकुमारी भण्डारी, कमलनाथ कुवँर, सुरेन्द्रराज अधिकारी, टेकनाथ घिमिरे, गिरीराज गौतम, दुर्गाराज रेग्मी, रामबहादुर केसी, कुमार सुनार, बुद्धीमान गुरुङ, नगेनसिंह ठकुरी, भरतराज तिवारी, नारायणकुमार श्रेष्ठ र मुरारी कोइरालालाई प्रत्यक्षका लागि सिफारिस गरिएको छ।

समानुपातिकमा सुरजजंग राणा, करिम मियाँ, डिल्लीराम तिवारी, अप्सरा श्रेष्ठ, चन्द्रावती पौडेल, खलिल मियाँ, शर्मिला काफ्ले, अजिमबक्स मियाँ र खेम गुरुङको नाम छ। १ नम्बर कै -ख) मा किशोरदत्त बराल, पार्टीसभापति कृष्ण केसी, नवीन सिग्देल, माया बराल र दीपेन्द्रराज ढकालको नाम प्रत्यक्षतर्फ छ भने समानुपातिकमा अनिता तिमिल्सिना, आनन्दी राना, मायादेवी तझ्या, कृष्णप्रसाद कोइराला, विश्व घिमिरे, चिनु रानाभाट, सराफत अलिमियाँ, रसकुमारी गुरुङ, नवीन सापकोटा र वृजमान गुरुङ छन्।

२ नम्बर क्षेत्रको (क) मा विजयराज आचार्य, रंगिला आचार्य, नम्रता बराल, केशरप्रसाद निदोर्षी, मीनबहादुर गिरी र आशिष गुरुङ प्रत्यक्षमा दावेदारी दिएका छन् भने समानुपातिकमा तोयबहादुर भट्टराई, मुक्तिबहादुर केसी, शोभाचन्द्र बराल, प्रेमलाल पुन, प्रेमबहादुर परियार र मीन बहादुर सार्कीको नाम छ।

-ख) मा माधवप्रसाद बास्तोला, मुकुन्दप्रसाद बास्तोला, विन्दुकुमार थापा, सुनयना पालिखे, वीरेन्द्रनारायण विजुक्छे, निर्मल कर्माचार्य, नरेशशंकर पालिखे, भीम गौतम, राजेन्द्रनिधि कोइराला र कुमारी मुना बास्तोलाले प्रत्यक्ष उम्मेदवार बन्न दावी गरेका छन्।

समानुपातिकमा ऋषिराम सापकोटा, इन्द्रबहादुर कुवँर, शारदा गिरी, विष्णुप्रसाद बास्तोला, हारुन खान, राजेन्द्रबहादुर कोइराला, चन्द्रप्रकाश थापामगर, दीपक बास्तोला र विष्णुमाया परियारले नाम दर्ता गराएका छन्।

क्षेत्र नम्बर ३ (क) मा रामचन्द्र त्रिपाठी, खिमलाल बास्तोला, हरिमाया गुरुङ, विष्णुबहादुर क्षेत्री, अम्बरबहादुर कार्की, शंकर ढुंगाना, भीमबहादुर गुरुङ र अमृत श्रेष्ठको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरिएको छ भने समानुपातिकमा लक्ष्मी पाण्डे, आनन्दराज मुल्मी, विजय वजिमय, पुष्पेन्द्र पाण्डे, मनबहादुर विक, खम्बासिंह गुरुङ, सुरेन्द्रमान विजुक्छे, सीता गुरुङ, सोनु गुरुङ, विजयाचञ्चला रेग्मी, लोक घले, सीता अधिकारी, टेकनशोभा गुरुङ, महेन्द्र पुन, दीपकराज पौडेल, मीना पाण्डे र मीना गुरुङ छन्।

३ नम्बरकै -ख) मा आइबहादुर गुरुङ, देवेन्द्रकुमार शेरचन, मनोज गुरुङ, भोजबहादुर गुरुङ, दुर्गाप्रसाद तिमिल्सिना, गंगा केसी, यशराज पराजुली, राजबहादुर गुरुङ, प्रकाश बराल र मनपति भण्डारी प्रत्यक्षतर्फका दावेदार हुन् भने रामजी कुवँर, भीम राना, दुर्गाबहादुर सुनार र मुक्तिराम अधिकारीको नाम समानुपातिकमा सिफारिस भएको छ।

एमाले प्रत्यक्षतर्फ सिफारिस

नेकपा एमालेले पनि विहिवार जिल्लाका ९ वटै पदका लागि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्रीय कमिटीको बैठकले संघका लागि तीन र प्रदेशका लागि छ वटा क्षेत्रमा उम्मेदवार टुंग्याएको हो। संघीय चुनावका लागि क्षेत्र नम्बर १ बाट खगराज अधिकारी र क्षेत्र नम्बर २ बाट रवीन्द्र अधिकारी सर्वसम्मत भएका छन्। ३ नम्बर क्षेत्रमा भने सर्वसम्मत हुन नसकेपछि भोटिङबाट ३ जनाको नाम छानिएको छ। क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि जगत् विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम क्षेत्रीय कमिटीबाट जिल्लामा सिफारिस भएको छ।

प्रदेश सभाका लागि १ नम्बर क्षेत्रको (क) बाट दिलिप न्यौपाने, टिकाराम पंगेनी र सरिता कुमालको नाम छनौट भएको छ भने (ख) मा मनबहादुर गुरुङ र वसन्त बराल सिफारिस भएका छन्। २ नम्बर क्षेत्रको (क) मा एमाले जिल्ला अध्यक्ष कृष्ण थापा, धनराज आचार्य र हिरा कुमारी गिरी सिफारिस भएका छन् भने (ख) मा संजीवबहादुर कोइराला, दानबहादुर बानियाँ र प्रभा कोइराला छानिएका छन्। निर्वाचन प्रक्रियामार्फत उनीहरूको नाम चयन गरिएको हो। ३ नम्बर क्षेत्रबाट प्रदेश सभाका लागि प्रत्यक्षतर्फ (क) मा दलबहादुर गुरुङ, नारायण बास्तोला र सरस्वती अधिकारीको नाम सिफारिस भएको छ भने (ख) मा दामोदर बैरागी, राजीव पहारी र देवका पहारीको नाम सिफारिस भएको क्षेत्रीय कमिटीले जानकारी दिएको छ। एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार उम्मेदवार छनौट गरिएको एमाले अध्यक्ष कृष्ण थापाले जानकारी दिए। समानुपातिक तर्फका उम्मेदवार भने केहीदिन भित्रै टुंगो लाग्ने एमाले कास्कीले जनाएको छ।

माओवादीमा छनौट स्थगित

वाम एकताको अन्यौलले माओवादी केन्द्र कास्कीमा उम्मेदवार छनौट रोकिएको छ। केही क्षेत्रमा उम्मेदवार टुंग्याएपनि चुनावी गठबन्धनका कारण तत्कालका लागि उम्मेदवार छनौट स्थगित गरिएको जिल्ला अध्यक्ष दीपक कोइरालाले जानकारी दिए। यद्यपी केही क्षेत्रमा उम्मेदवार टुंगिसकेका छन्।

माओवादीले क्षेत्र नम्बर १ मा पूर्वमन्त्री देव गुरुङ र क्षेत्र नम्बर २ मा कास्की इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ। यस्तै कास्की क्षेत्र नम्बर २ को (क) मा गंगा पोखरेललाई सर्वसम्मत उम्मेदवार प्रदेश सांसदका लागि उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष दीपक कोइरालाले जानकारी दिए। बाँकी उम्मेदवारका विषयमा भने गठबन्धनका कारण छलफल नै स्थगित भएको उनको भनाइ छ। ३ नम्बर क्षेत्रमा पार्टीका कास्की सहइञ्चार्ज रामजी बरालसहित पूर्वसभासद दुर्गा विक, भूमि पराजुली र नवराज भण्डारीको नाम चर्चामा छ।

अलमलमा नयाँ शक्ति

नयाँ शक्ति नेपाल पनि वाम गठबन्धनको अलमलमा छ। नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले नै वाम गठबन्धनलाई सघाएपछि उनीहरू अहिले मौन छन्। तर, कास्कीका सबै क्षेत्रमा उम्मेदवार टुंग्याएर केन्द्रमा नाम भने सिफारिस भैसकेको छ। नयाँ शक्तिले कास्की क्षेत्र नम्बर १ मा कणेल मदन केसी, २ मा हेमबहादुर थापा र ३ मा देवी सुवेदीको नाम टुंग्याएको छ। यस्तै प्रदेश सांसदका लागि १ नम्बर क्षेत्रको (क) मा नारायणहरी तिवारी, कमल थापा, कृष्ण रानाभाट र विकल पौडेलको नाम सिफारिस भएको छ भने (ख) मा रमेश सिके, आरसी कुवँर र खुशीमान गुरुङको नाम छ। २ नम्बर क्षेत्रको (क) बाट खड्क गुरुङ र (ख) बाट डम्बर केसीको नाम पठाइएको छ। क्षेत्र नम्बर ३ तर्फ -क) मा नारायण भण्डारी र (ख) मा तोयानाथ लम्साल, दामोदर त्रिपाठी र मीन पौडेलको नाम केन्द्रमा पुगेको जिल्ला संयोजक हेम बहादुर थापा (किरण) ले जानकारी दिए।

एमालेमा विवाद, नेपाल पक्ष रिङ आउट

उम्मेदवार छनौटमा पक्षपात गरिएको भन्दै केही नेताले असन्तुष्टी जनाएका छन्। गुटगत राजनीतिका कारण केही नेतालाई बाइपास गरेरै उम्मेदवार सिफारिस भएको उनीहरूको तर्क छ। सांसद सीता गिरी वली र तुलबहादुर गुरुङले लिखित रूपमा निवेदन नै दिएर असहमति जनाएका छन्। उम्मेदवार सिफारिस भोटिङमार्फत गरिएको भनिए पनि आफु चुनावी प्रक्रियामा सहभागी नै नभएको सांसद वलीले बताएकी छिन्। ‘केन्द्रले सहमतिमा नाम सिफारिस गर्न भनेको हो। यहाँ भोटिङ भनेर मलाई पाखा लगाइयो’ उनले भनिन्-‘यहाँ त सुरुमै तगारो लगाउने काम भयो। पार्टीको प्रदेश र केन्द्रको पनि ध्यानाकर्षण हुनुपर्छ।’

अर्का सांसद तुलबहादुर गुरुङले आफ्नो सहमति बिना उम्मेदवार सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्। उनले लिखित निवेदन नै बुझाएर निर्णय सच्याउन माग गरेका हुन्। ‘एउटा विचारमा आस्था राख्नेलाई किनारा लगाएर सिफारिस पठाइएको छ। यो सरासर नियोजित हो’- उनले भने-‘पार्टीको निर्णय प्रजातान्त्रिक हिसाबले कार्यान्वयन हुनुपर्छ। तर, कसैलाई सिध्याउनका लागि निर्देशन लादियो, पार्टीभत्र अचाक्ली भो।’

माधव कुमार नेपाल पक्षधर नेतालाई वाइपास गरेर उम्मेदवार सिफारिस गरिएको एमालेभित्रै गुनासो बढ्न थालेको छ। वली र गुरुङसँगै शान्त नेताका रूपमा छवी बनाएका र लामो समय एमालेको राजनीतिमा निरन्तर लागेका नेता श्रीनाथ बराल पनि सिफारिसको लिष्टबाटै आउट भएका छन्। तीनैजना नेताहरू भोटिङबाट पराजीत भएको सिफारिस समितिले जनाएको छ। यद्यपि भोटिङको नाममा जबरजस्त गरेको उनीहरूको आरोप छ। तीनै नेता एमालेभित्र नेपाल पक्षका मानिन्छन्। ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पुर्‍याएको एमाले नेता बताउँछन्।

- प्रकाश ढकाल