एकसाता भित्र घोषणापत्र तयार पार्ने बाम गठबन्धनको तयारी

काठमाडौ १९ असोज। नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल र पार्टीएकीकरणबारे मंगलवार समझदारी भएको थियो। सोही अनुरूप क्षेत्र निर्धारण र घोषणापत्र तयार गर्न दुर्इ वटा कार्यदल गठन गरिएको थियो।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विहीवार बसेको क्षेत्र निर्धारण र संयुक्त घोषणापत्र तयार गर्न गठित दुर्इ वटै कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सात दिनभित्रमा घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिएका हुन्।

संविधान, लोकतन्त्र, सामाजिक न्यायलगायतका अन्य विषयलाई समेत सम्बोधन गरेर घोषणापत्र तयार गर्न शीर्ष नेताले निर्देशन दिएको नेता गंगा श्रेष्ठले जानकारी दिए। समितिमा एमालेकातर्फबाट विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रकातर्फबाट वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीकातर्फबाट नेता गंगा श्रेष्ठ रहेका छन्। सहमति अनुसार समितिलाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको छ।

यसैबीच, साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा माओवादी केन्द्रको निर्वाचन चिन्ह हँसिया-हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टीएकताको प्रक्रिया शुरु भएपछि मोर्चाले बिहीवार यस्तो निर्णय गरेको हो।

मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुर्इ ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिन्हमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, संसदमा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टीनेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन्। उता, नेकपा संयुक्तले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।

- अादर्श समाज सम्वाददाता