मिस पोखरालाई यामाहाको स्कुटर

पोखरा, १९ असोज। मेट्र्स इन्टरनेशनल नवौं मिस पोखरालाई यामाहाको स्कुटर हस्तान्तरण गरिएको छ। प्रतियोगिताको को स्पोन्सर विश्वकर्मा अटोमोवाइल्सले सहमति बमोजिम मिस पोखरा ममता जोशीलाई विहीवार एक समारोहबीच सो स्कुटर हस्तान्तरण गरेको हो।

आधिकारिक विक्रेता विश्वकर्मा अटोमोवाइल्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले आयोजक संस्था जेसिआई पोखराका अध्यक्ष शिवप्रसाद कोइराला र मिस पोखरा जोशीलाई फेसिनो स्कुटरको चाबी हस्तान्तरण गरे। प्रबन्ध निर्देशक श्रेष्ठले सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्दै राम्रा काममा सदैव साथ रहने उल्लेख गरे।

पोखरा जेसिजका अध्यक्ष कोइरालाले दुर्इ दशक अघिदेखि मिस पोखरा गर्दै आएको जेसीजको अभियानलाई साथ दिएकोमा आभार व्यक्त गर्दै यस्तै सहयोगको अपेक्षा आगामी दिनमा पनि गरे। मिस पोखरा जोशीले यो प्रतियोगितामा सहभागितापछि आफ्नो नेतृत्व तथा क्षमता विकास भएको उल्लेख गर्दै समाजप्रतिको जिम्मेवारी बोध बढेको बताइन्। कार्यक्रममा  मिस पोखरा २०१७ की फस्ट रनर अप पुनम केसी, सेकेण्ड रनरअप सिमरन गुरुङ, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, आयोजक सदस्यलगायतको उपस्थिति थियो। कार्यक्रम मूल आयोजक समिति संयोजक एवं कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद सापकोटाले मिस पोखराले मिस नेपालमा स्वतः सहभागिताको अवसर पाउने भन्दै त्यहाँ पनि उपाधि जितेर आउन शुभकामना दिए। कार्यक्रमको सञ्चालन कोषाध्यक्ष देवराज शर्माले गरेका थिए। गत असोज ५ गते पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि सहित जोशीले नगद ५० हजारसमेत जितेकी थिइन्।

- अादर्श समाज सम्वाददाता